Logo
४ असार २०८१, सोमबार
(August 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसकारण भइरहेको छ, चिन-भारतवीच दोक्लम विवाद

चीन र भारतबीचमा दोक्लमको चिकेन नेकमा बढिरहेको द्वन्द्व अझै चर्किने सम्भावना देखिन्छ । चीनको स्वायत्त प्रदेश तिब्बत र भारतको सिक्किमको सीमा क्षेत्रमा विगत डेढ महिनादेखि सीमा विवाद चर्किरहेको छ । चीनले डोक्लाम विवादलाई लिएर १५ पेज लामो वक्तव्य जारी गर्दै भारतलाई आफ्ना सेना तत्काल पछि हटाउन कडा चेतावनी दिएको छ । भुटानलाई बहाना बनाएर भारतले चिनियाँ भूमिमाथि दावी गर्न खोजेको आरोप एक दस्तावेजमा लगाइएको छ ।

बेइजिङको भुटानसँग कुनै समस्या नरहेको र सीमाको मामलामा दुवै पक्ष संवादमा रहेको उल्लेख गर्दै चीनले यो भारतको चासोको विषय नभएको पनि बताएको छ । दोक्लाममा सडक निर्माणबारे भारतलाई पहिल्यै सुचित गरिएको विज्ञप्तिमा उल्लेख छ । चीन, भारत र भुटानको त्रिदेशीय विन्दूमा निर्माणाधिन सडकले नयाँ दिल्लीलाई गम्भीर सुरक्षा चुनौति थप्ने भारतीय दावीलाई चीनले खारेज गरेको छ ।

‘सुरक्षा चिन्ताको नाममा छिमेकी देशको सीमाभित्र घुसेर कुनै पनि गतिविधि गर्नुले अन्तर्राष्ट्रिय कानून तथा अन्तर्राष्ट्रिय सम्वन्ध परिचालन गर्ने आधारभूत मान्यताहरुको उल्लंघन गरेको छ,’ दस्तावेजमा भनिएको छ, ‘कुनै पनि सार्वभौम राष्ट्रले यसलाई सहन सक्दैन ।’
दस्तावेजमा थप लेखिएको छ, ‘चीन-भुटान सीमा विवाद भनेको चीन र भुटान बीचको हो । भारतको यसमा कुनै सरोकार छैन । तेस्रो पक्षका रुपमा यसमा हस्तक्षेप गर्ने अधिकार भारतले राख्दैन ।’

चीनको परराष्ट्र मन्त्रालयले बुधबार ‘भारतीय सीमा सुरक्षा बलले चीन–भारत सीमा क्षेत्रको उल्लंघन गरी चीनको भू-भागमा प्रवेश गरेको तथ्यगत प्रतिवेदन र चीनको अडान’ शीर्षकमा दस्तावेज नै जारी गरेर अन्तर्राष्ट्रिय समाजको ध्यानाकर्षण गराएको छ । उक्त दस्तावेजमा चीनको तिब्बत र सिक्किमको उत्तरी क्षेत्रमा रहेको दोक्लम क्षेत्रको भौगोलिक र ऐतिहासिक अवस्थाका तथ्यगत कुराहरु समावेस गरिएको छ ।

अहिलेसम्म पनि भारतीय सेना अवैध रुपमा चीनको भूखण्डमा रहिरहेको उल्लेख गर्दै विनासर्त तुरुन्तै पछाडि हट्न भारतीय सेनालाई चेतावनी दिइएको छ । उक्त दस्तावेजमा सन् १८९० को सन्धि र भारतले हस्ताक्षर गरेको चीन–भारत सीमा रेखाको अक्षरशः पालना गर्न भारतलाई चीनले ताकिता गरेको औँल्याइएको छ । दस्तावेजमा भनिएको छ — चिनियाँ भूभागको सार्वभौमिकताको सम्मान गर्दै तत्काल सीमा उल्लंघन गरेका भारतीय सीमा सुरक्षा बललाई भारतीय भूखण्डमा फर्किएर दुई देश बीचको सीमा क्षेत्रको शान्ति र स्थिरतालाई पुनःस्थापना गर्न चीन भारतलाई ताकिता गर्दछ ।

उक्त दस्तावेजमा भनिएको छः दोक्लाम क्षेत्र चीनको तिब्बत स्वायत्त प्रदेशको यातुङ जिल्लामा पर्दछ । त्यसको पश्चिमपट्टिको भाग भारतको सिक्किमसँग जोडिन्छ भने दक्षिणी पट्टि भूटानसँग सीमा जोडिएको छ । सीमा उल्लंघन भएयता चीनले उच्च संयम र धैर्य कायम राखी कूटनीतिक तरिकामार्फत समस्याको समाधानका लागि भारतसँग सम्पर्क राख्दै आएको छ । भारतले तत्काल बिनाशर्त सीमा उल्लंघन गरिरहेका सीमा सुरक्षा बललाई आफ्नो भूखण्डमा फिर्ता गर्नुपर्छ ।

यो द्वन्द्व समाधान गर्ने एकमात्र विकल्प हो । त्यसकारण विनासर्त भारतीय फौज चिनियाँ भूमिबाट फर्कनु पर्छ । यसैबीच चिनियाँ परराष्ट्र मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले चीनले किन यस्तो दस्तावेज जारी गरेको र अहिलेकै समय किन रोजिएको भन्ने प्रश्न गरेका छन् ।

पत्रकारको प्रश्नमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले भनेका छन् ‘गत जुन अठार तारिख भारतीय सीमा सुरक्षा बलले दोक्लमस्थित चीन–भारत सीमा क्षेत्र उल्लंघन गरी चीनको भूखण्डमा प्रवेश गरेको र हालसम्म भारतीय सेना अवैध रुपमा चीनको भूखण्डमा रहिरहेकाले चीनले कूटनीतिक तरिकामार्फत भारतसमक्ष गम्भीर आपत्ति उठाउँदा पनि भारतले टेरेको छैन । @एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति: Aug 3, 2017

प्रतिक्रिया दिनुहोस्