Logo
२४ बैशाख २०८१, सोमबार
(July 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपामा पश्चिम मधेशी असन्तुष्ट, पूर्वी मधेशीको हावी

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालमा पूर्व मधेश र पश्चिमी मधेशको विवाद शुरु भएको छ । सो पार्टीभित्र पूर्वी मधेश हावी भएको भन्दै पश्चिम मधेशका नेताहरु असन्तुष्टि जनाइरहेका छन् ।  अध्यक्ष मण्डलमा रहेका छजना नेताहरु सबै पूर्व मधेशका रहेका छन्, उनीहरुकै हालीमुहाली रहेको आरोप लाग्दै आएको छ । त्यही भएर असन्तुष्ट पक्षले साउन २ गते रुपन्देहीको भैरहवामा भेला गरी पार्टीभित्र समावेशी नगरे विद्रोह गर्ने चेतावनी दिएका थिए ।

नारायणीदेखि पश्चिमका नेताहरु ह्रदयश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ला, ईश्वर दयाल मिश्र, गोविन्द चौधरी, पशुपति दयाल मिश्र, नरसिँह चौधरी, मलमती राणा थारु, वृजेश गुप्ता, कमलेश्वर पुरी, अकवाल अहमद, ओमप्रकाश गुल्जारीलगायतका नेताहरु असन्तुष्ट रहेका छन् । राजपा नेपालको कार्यसमिति ८ सय १५ जनाको रहेको छ । जसमध्ये करिब १ सय १५ जनामात्र पश्चिम मधेशबाट केन्द्रीय कार्यसमितिमा राखेका छन् । सो पार्टीमा १३६ पदाधिकारी रहेका छन्, त्यसमध्ये पश्चिम मधेशका १४ जना मात्र परेका छन् ।

राजपासँग २५ जना सांसद छन् (एकजना निलम्बन),त्यसमध्ये छजनाले मात्र प्रत्यक्ष जितेका छन् । प्रत्यक्ष जितेकामध्ये सर्वेन्द्रनाथ शुक्ला, वृजेश गुप्ता, कमलेश्वपुरी गोस्वामी गरी तीनजना पश्चिम मधेशबाट नै जितेका छन् । राजपा नेपालले १९ जना समानुपातिक बनाएका छन्, त्यसमध्ये ४ जना मात्र पश्चिम मधेशलाई दिएको छ । राजपा नेपालका उपाध्यक्ष नरसिह चौधरी भन्छन्, ‘यो पश्चिम मधेशप्रति विभेद होइन भने के हो, प्रत्यक्षमा जित्ने हामी, मत ल्याउने हामी तर समानुपातिक बाँडफाँड गर्दा पूर्वी मधेशमै सबै राख्ने गरिएको छ ।’

छ जनाको अध्यक्ष मण्डलमा एकजना पनि पश्चिम मधेशबाट नअटाएकोमा चौधरीको मात्र होइन, सहअध्यक्ष हृदयश त्रिपाठीको पनि गुनासो रहेको छ । उनले पनि पार्टीभित्र सबैको समावेशी र समानुपातिक सम्मानजनक उपस्थिति हुनुपर्ने बताउँदै आएका छन् ।जिल्लामा पनि लगभग बराबर नै छ । पूर्वका झापा, सुनसरी, मोरगं, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा गरि जिल्ला रहेका छन् । यसलाई कोर मधेशको रुपमा बुझ्ने गरेको छ भने पश्चिमका आठ जिल्ला रुपन्देही, कपिलवस्तु, नवलपरासी, बाँके, कैलाली, कञ्चनपुर, बर्दिया र दाङ रहेका छन् । राजपा नेपालमा रहेका अधिकांश नेताहरु दुई नम्बर प्रदेश अर्थात आठवटा जिल्लाका मात्र रहेका छन् ।

मधेशीको संख्या पूर्वमा अलि बढी भएपनि राजनीतिक रुपमा पश्चिम मधेश पनि संसदमा उपस्थिति देखाउँदै आएका छन् । यो विषय पार्टीभित्र ठूलो विषय बनेको छ । नारायणघाटदेखि पूर्वका मधेशी तथा थारु नेताहरुले छुट्टै मधेश बनाउने भनि केही गृहकार्य पनि गरेका थिए । तर पार्टीका नेतृत्व पंक्तिले यसलाई समाधान गर्ने भनेपछि त्यो खतरा टरेको छ । साउन १८ गतेदेखि पदाधारी तथा २१ गतेदेखि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ त्यसमा यस विषयमा छलफल हुने बताइएको छ । राजपा नेपालको पदाधिकारीहरुको छुट्टाछुटै बसेको बैठकमा पनि पश्चिम मधेशका नेताहरुले यो विषय गम्भीर रुपमा उठाएको छ ।

केन्द्रीय समितिको बैठकको तयारीका लागि बसेको बैठकमा यी विषयलाई गम्भीर रुपमा उठाइएको छ, ताकि बैठकमा हुने बहस, प्रस्तुत हुने राजनीतिक प्रतिवेदन तथा अन्य दस्तावेजहरुमा यी समावेश होस् भनेर कुरा उठाइएको उपाध्यक्ष गोविन्द चौधरीले बताए । उनले भने, ‘हामीलाई पूर्वी मधेश वा पश्चिम मधेशसँग मतलब छैन तर पार्टी जातीय, भौगिलिक, लिङ्गीयलगायतको क्षेत्रमा पनि समावेशी हुनुपर्ने कुरामा जोड रहेको छ ।’ उपाध्यक्ष धनुषाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले पार्टी निर्माणकै क्रममा हो, यसप्रकारको बहस हुनु स्वभाविक पनि हो, यसलाई पार्टीले समाधान गर्ने विश्वास लिएको बताए । छवटा पार्टी मिलेका छन्, यसलाई व्यवस्थापन गर्ने कार्य शुरु भएको उनले बताए ।

केन्द्रीय समिति सदस्य ८१५
पदाधिकारी १३६
सांसद २५
प्रत्यक्ष–६
समानुपातिक–१९

साभार : रातोपाटी

प्रकाशित मिति: Jul 30, 2017

प्रतिक्रिया दिनुहोस्