Logo
५ जेष्ठ २०८१, शनिबार
(July 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘देशलाई निकास दिने वैकल्पिक शक्ति नयाँ शक्ति पार्टी’

काठमाडौं : नयाँ शक्ति पार्टी, नेपालको संघीय परिषद बैठक बुधबारदेखि काठमाडौंमा सुरु भएको छ । काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा अपरान्हबाट सुरु भएको बैठकमा पार्टीका संयोजक डा. बाबुराम भट्टराईले ‘पार्टी स्थापनाको एक वर्ष: समीक्षा र आगामी कार्ययोजना’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

संयोजक डा. भट्टराईले बैठकमा प्रतिवेदन पेश गर्दै धेरै किसिमका प्रतिभा भएका सामाजिक तथा राजनीतिक व्यक्तित्वहरुको विज्ञतालाई एकै ठाउँमा राखेर वैकल्पिक शक्ति निर्माण अभियान सुरु गरिएको दाबि गरे । उनले पुराना राजनीतिक पार्टीहरुले देशलाई विकल्प दिन नसक्ने भन्दै त्यसको अभाव पूरा गर्नका लागि आफूहरु वैकल्पिक राजनीतिक शक्ति निर्माणको प्रक्रियामा अघि बढेको बताएका छन् ।

‘माओवादी संविधान नबन्दासम्म क्रान्तिकारी र अग्रगामी शक्ति नै थियो,’ उनले भने, ‘तर, संविधान बनेपछि माओवादीले क्रान्तिकारीता गुमायो र ऊ अहिले पुराना संसदीय शक्तिहरु जस्तै सत्तालिप्सामा केन्द्रीत भएको छ । त्यसैले हामी अब देशलाई निकास दिनका लागि नै वैकल्पिक शक्ति निर्माणको अभियानमा अघि बढेका हौं र नयाँ शक्ति त्यही विकल्प निर्माणको प्रयास हो ।’

बैठकमा पार्टीभित्रको कमजोरी औंल्याउँदै पार्टीमा क्षमतावान मान्छेहरुको थुप्रो भएपनि एकताबद्ध शक्ति हुन नसकको बताए । उनले पार्टीलाई सम्पूर्ण रुपले पुर्नगठन गर्नुपर्ने आवश्यकता रहेको बताउँदै पुरानो परिचयलाई बिर्सेर मात्र नयाँ शक्ति बन्ने भएकोले सबै नेता कार्यकर्ताहरुलाई पुरानो परिचयको ‘ह्याङओभर’बाट मुक्त हुनसमेत आग्रह गरे ।

पार्टी पुनर्गठनको आवश्यकतामाथि जोड दिंदै संयोजक भट्टराईले विद्यमान केन्द्रीय कार्यकारी समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेर २ नम्बर प्रदेशबाहेक अन्य सबै प्रदेशका स्थानीय तहहरुमा यहि असोज मसान्तभित्र पहिलो स्थानीय अधिवेशन सम्पन्न गरी केन्द्रीय परिषद्मा स्थानीय तहबाटै चुनिएर आउने व्यवस्था गर्ने प्रस्ताव राखेका थिए । ‘सबै तलबाट चुनिएर आउनुपर्छ, म पनि तलबाटै चुनिएर आउँछु,’ उनले भने, ‘अब कसैलाई टिका लगाएर केन्द्रीय परिषद् सदस्य बनाइनेछैन ।’

बैठकमा करिब ७ सय संघीय परिषद् सदस्यहरुको उपस्थिति रहेको छ । बहीबारसम्म चल्ने परिषद् बैठकमा संयोजक डा. बाबुराम भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल हुनेछ र आवश्यक परिमार्जनसहित प्रतिवेदन पारित गरी बैठकले पार्टीको आगामी कार्ययोजनाका बारेमा ठोस निर्णय गरी अघि बढ्ने केन्द्रीय कार्यालय संयोजक डा. केशवमान शाक्यले जानकारी दिए ।

प्रकाशित मिति: Jul 26, 2017

प्रतिक्रिया दिनुहोस्