Logo
५ जेष्ठ २०८१, शनिबार
(July 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पढाइ महँगो भयो भन्ने बहस चलिरहेका बेला नौ सय छात्रवृत्ति कोटा खाली 

काठमाडौं : निजी शैक्षिक संस्थाको पढाइ महँगो भयो भन्ने बहस चलिरहेका बेला यस वर्ष कक्षा ११ मा निःशुल्क अध्ययनका लागि निजी विद्यालयले प्रदान गर्ने नौ सय छात्रवृत्ति कोटा रिक्त भएका छन् । अधिकांश विद्यार्थीले राजधानीमा नाम चलेका र महँगा मानिएका विद्यालयमा मात्र अध्ययन गर्ने रुचि देखाएपछि मध्यमस्तरका विद्यालयका कोटा खाली भएका हुन् ।

निःशुल्क छात्रवृत्तिमा अध्ययनका लागि परीक्षा दिएका विद्यार्थीको नतिजा जिल्ला शिक्षा कार्यालयले सार्वजनिक गर्दा यस्तो देखिएको हो । निजी शैक्षिक संस्था सञ्चालकले कक्षा ११ मा भर्ना गरेका कुल विद्यार्थीमध्ये पाँच प्रतिशतलाई छात्रवृत्तिमा पढाउनुपर्ने व्यवस्था छ । पाँचमध्ये दुई प्रतिशत विद्यार्थी विद्यालय आफैँले परीक्षा लिएर छनोट गर्छन् भने तीन प्रतिशत जिल्ला शिक्षाले छनोट गर्ने नियम छ ।

शिक्षा ऐन संशोधन हुनुअघि यस्तो छनोटको अधिकार तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्लाई थियो । यसै वर्षदेखि जिल्ला शिक्षा कार्यालयमार्फत परीक्षा सञ्चालन गरिएको हो । कार्यालयले बाग्मती अञ्चलका आठसहित रामेछाप, दोलखा र सोलुखुम्बुका निजी शैक्षिक संस्थामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि परीक्षा सञ्चालन गरेको थियो ।

काठमाडौंका जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटाका अनुसार यसपटक यी सबै जिल्लामा विज्ञान विषयमा ५७ र व्यवस्थापन विषयमा आठ सय ९२ छात्रवृत्ति कोटा रिक्त छ । यी सबै जिल्लामा गरी व्यवस्थापनमा एक हजार ६ सय ३२ र विज्ञानमा आठ सय पाँच छात्रवृत्ति कोटा उपलब्ध थियो ।

यसरी छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीले आफूले अध्ययन गर्न चाहेका तीनवटा विद्यालयको नाम उल्लेख गरेर छात्रवृत्ति फाराम भर्नुपर्ने हुन्छ । तर, अधिकांश विद्यार्थीले नाम चलेका सेन्टजेभियर्स, गोल्डेनगेट, केएमसी, बूढानीलकण्ठ, साउथ वेस्टर्न स्टेट, चेल्सी, सीसीआरसीलगायत विद्यालयमा मात्र अध्ययन गर्न पाऊँ भनेर फाराम भरे ।

‘धेरै विद्यार्थीले एकै विद्यालयमा पढ्ने चाहना राख्दा राम्रै पढाइ हुने अन्य विद्यालयको कोटा रिक्त रह्यो । छात्रवृत्तिमा नाम निकाल्न योग्य विद्यार्थीबीच नै प्रतिस्पर्धा हुँदा धेरै बाहिरिए’, सापकोटाले भने, ‘छात्रवृत्ति परीक्षामा सबै प्रश्न मिलाउने विद्यार्थीबीचमै प्रतिस्पर्धा गराउनुपर्दा कठिन भएपछि एसईई परीक्षामा कसले धेरै जीपीए ल्याएको छ भनेर हेर्नुपर्ने अवस्था आयो ।

अधिकांश विद्यार्थीले राजधानीमा नाम चलेका र महँगा मानिएका विद्यालयमा पढ्न रुचि देखाएपछि मध्यमस्तरका विद्यालयका कोटा खाली भएका हुन् । त्यसमाथि पनि यसरी विद्यार्थी छनोट गर्दा दलित, जनजाति, सहिद परिवार, दुर्गम क्षेत्र आदिलाई प्राथमिकता दिनुपर्ने हुन्छ । ‘उदाहरणका लागि सेन्ट जेभियर्स कलेजमा विज्ञान विषय पढ्न १६ वटा कोटा उपलब्ध थियो ।

तर, उत्कृष्टबीच नै प्रतिस्पर्धा भए पनि दलित, जनजाति, सहिद परिवार, दुर्गम क्षेत्र आदिलाई प्राथमिकता दिनुपर्दा ब्राह्मण समुदायका विद्यार्थीले एक सय पूर्णांकमा सय नै ल्याए पनि छात्रवृत्तिमा छनोट हुन सकेनन्’, सापकोटाले भने, ‘तर तिनै विद्यार्थीले अन्य विद्यालयमा पढ्न पाऊँ भनी परीक्षा दिएको भए सजिलै नाम निस्कन्थ्यो ।’

यसरी छात्रवृत्तिमा अध्ययन गर्न नाम निकालेका विद्यार्थीले कक्षा ११ र १२ मा निःशुल्क अध्ययन गर्न पाउनेछन् । तर, विद्यार्थीले प्रयोगशाला, परीक्षालगायत शीर्षकमा भने शुल्क तिर्नुपर्नेछ । छात्रवृत्तिमा नाम निकालेका विद्यार्थीले वार्षिक औसत ५० हजारदेखि एक लाख रुपैयाँसम्म बचाउँछन्। सूर्यप्रसाद पाण्डेको बाइलाइनमा अन्नपुर्ण पोष्टमा समाचार छ ।

प्रकाशित मिति: Jul 26, 2017

प्रतिक्रिया दिनुहोस्