Logo
११ श्रावण २०८१, शुक्रबार
(July 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसले मन्त्रीको नाम टुंग्यायो, बुधवारै सपथग्रहण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । कांग्रेसले मन्त्रीहरुको नाम टुंगो लगाएको छ तर, मन्त्रालयका विषय रामचन्द्र पौडेल र देउवा समूहबीच छलफल जारी छ । सरकार गठन भएको लामो समयसम्म पनि मन्त्रिपरिषद् विस्तार नभएको भन्दै देउवाको आलोचना हुन थालेको छ । स्वयंम सत्तारुढ माओवादीका अध्यक्ष प्रचण्डले लाजै लाग्ने अवस्था आएको भन्दै आफ्नो पार्टीबाट मात्र भएपनि मन्त्री थप्न दबाव दिएका छन् ।

मंगलबार नै १८ मन्त्री थप गरी सपथ दिलाउने देउवाको योजना भए पनि पार्टीभित्रका पार्टीमा सहमति नजुट्दा सरकार विस्तार रोकिएको थियो । प्रधानमन्त्री देउवाले कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६ र नेपाल लोकतान्त्रिक फोरमबाट २ जना गरी १८ जना मन्त्री थप गरी पहिलो पटक मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका थिए । सत्ता साझेदार दलहरुबीचको सहमतिअनुसार यसअघि माओवादी केन्द्रलाई गृह, परराष्ट्र र शहरी विकास तथा लोकतान्त्रिक फोरमलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय दिएको थियो ।  

यस्तो छ, पौडेल समूहका मन्त्रीहरुको नमावली
पौडेल समूहले मन्त्रीका लागि चार जनाको नाम बुझाएको छ । पौडेल समूहले यज्ञबहादुर थापा, सञ्जय गौतम, राजन केसी र रामकृष्ण यादवको नाम बुझाएको हो । पौडेल समूहले मन्त्री बनाउन लागेका प्रत्यक्ष निर्वाचित सांसद हुन् र चारै जना पहिलो पटक मन्त्री हुन लागेको हुन् । यसअघि चर्चामा रहेका बलबहादुर केसी मन्त्री भएनन् । यस्तै सरिता प्रसाई र कमला पन्तको नाम पनि चर्चामा थियो । तर, पार्टी सभापति शेरबहादुर देउवा समूहबाट महिला मन्त्री हुने भएपछि पौडेल समूहबाट सरिता र कमला दुबै परेनन् ।

देउवा समूहबाट को-को ?
सत्ता साझेदार माओवादी केन्द्रसँग भएको सहमति अनुार कांग्रेसले १३ वटा मन्त्रालय पाउनेछ । कांग्रेसबाट गोपालमान श्रेष्ठ उपप्रधानसहित शिक्षामन्त्री, ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री र फर्मुल्लाह मन्सुस श्रममन्त्री भइसकेका छन् । तीनै जना देउवा समूहका हुन् । बाँकी १० मन्त्री मध्ये देउवा पक्षबाट ४, वरिष्ठ नेता रामचन्द्र पौडल पक्षबाट ४ जना हुनेछन् भने कृष्ण सिटौला समूह र खुमबहादुर खड्का समूहबाट एकएक मन्त्री बन्नेछन् ।

कांग्रेस निकट श्रोतका अनुसार देउवा पक्षबाट मीन विश्वकर्मा, अर्जुन जोशी, वीरबहादुर बलायर र अम्बिका बस्नेत मन्त्री हुने भएका छन् । यद्यपि मीन विश्वकर्मा, अर्जुन जोशी, वीरबहादुर बलायरको नाम अझै हेरफेर हुने सम्भावना रहेको स्रोतले बताएको छ । यस्तै सिटौला समूहबाट भीमसेनदास प्रधान र खुमबहादुर समूहबाट मोहनबहादुर बस्नेतको नाम लगभग टुंगिएको छ ।

बुधबार हुने मन्त्रिपरिषद् विस्तारमा माओवादीका मन्त्रीहरु पनि समेटिनेछन् । माओवादीले मन्त्रीको नाम टुंगो लगाइसकेका भनेको छ तर, अहिलेसम्म सार्वजनिक गरेको छैन । ९ मन्त्रालय पाएको माओवादीबाट उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा प्रभाकर र शहरीविकास मन्त्री प्रभु साह भइसकेका छन् ।

 

प्रकाशित मिति: Jul 25, 2017

प्रतिक्रिया दिनुहोस्