Logo
१२ श्रावण २०८१, शनिबार
(July 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘पञ्चायत बिरुद्ध ४६ सालको जनआन्दोलनले माग्‍ने बनायो’

औषधि किन्‍न समेत पैसा नभएपछि सहयोग माग्न दाङको तुलसीपुरमा रहेको एक कार्यालयमा पुगेका जनआन्दोलनका घाइते तारा खड्का। तस्बिर: गोपाल शर्मा

तुलसीपुर: प्रजातन्त्र स्थापनाका लागि २०४६ सालको पञ्चायत बिरुद्धको जनआन्दोलनमा सहभागि हुँदा रुकुम मुसिकोट नगरपालिका सोलावाङका तारा खड्काले सोचेका थिए कि अब देशमा समृद्धिको यात्रा आरम्भ हुने छ र सबै नागरिकका दुखका दिनहरु अन्त हुनेछन्। उनी त्यही सपनाका साथ पञ्चायत विरुद्धको आन्दोलनमा होमिए। उनीजस्तै हजारौं यूवाहरु पनि आन्दोलनमा लामबद्ध भए।
रुकुमबाट पढ्नका लागि काठमाडौँ गएका तारा त्यतिबेला स्नातक तहको व्यवस्थापन संकायमा अध्ययनरत थिए। तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको धर्मपुत्रका रुपमा रहेका तारा जनताको अधिकार लागि भन्दै त्यो व्यवस्थाका विरुद्धमा उभिए र प्रधानमन्त्रीको धर्मपुत्रका रुपमा जुन शान, मान र सम्मान उनले पाइरहेका थिए, सबै छोडेर आन्दोलनमा होमिए ।

आफैलाई संरक्षण गरिरहेको व्यक्ति र व्यबस्थाविरुद्ध सडकमा उत्रिएका तारा आन्दोलनका क्रममा घाइते भए। हात र खुट्टामा गोली लाग्यो। प्रहरीले नियन्त्रण लिएर उनको जिब्रोमा करेन्ट नै लगाइदियो। ताराले एउटा खुट्टा गुमाए। कृतिम खुट्टाको भरमा हिडडुल गर्छन्। गोली लागेको एउटा हात मृतप्राय छ। त्यो हातले काम गर्दैन। राजनीतिक परिवर्तनसंगै आएको सरकारले उनको उपचार खर्च त ब्यहोर्यो तर उनलाई उपचार पछि भने कुनै वास्ता गरेन । हुन त यो पीडा उनको मात्र होइन । हिजो आन्दोलनमा अंगभंग भई आज कहालीलाग्दो जिवन बिताईरहेकाहरुको लामै सूची छ र ति सबैको आफ्नै पीडा छ।

‘मैले व्यक्तिगत लाभका लागि सोचेको भए पञ्चायति व्यस्था नै मेरो लागि ठिक थियो, प्रधानमन्त्रीकै धर्मपुत्रका रुपमा म काठमाडौंमा बसेको थिए, उनले विगत सम्झिदै भने, ‘तर मैले त जनताका लागि पञ्चायति व्यवस्थाको विरुद्धमा सडकमा आएको थिए। घाइते भए। मैले खुट्टा गुमाए तर राजनीतिक परिवर्तनपछि राज्यले कुनै वास्ता गरेन।’  आज ३० बर्ष पुगिसक्दा समेत नियमित औषधि सेवन गरिरहेका तारा उमेरले पनि ५० बर्षका पुगे। आफ्नो उर्जाशील समयमा आन्दोलनमा होमिएर हातखुट्टा गुमाएका उनको यति बेला गुजाराको कुनै उपाय छैन। ‘मसंग कुनै आयस्रोत छैन, नियमित औषधि खाईरहेको छु। बाँच्नु त पर्यो। सडकमा आएर भीख माग्नुपर्ने दिन आयो।’ उनले आफ्नो पीडा पोखे।

राज्यले आन्दोलनका घाईतेलाई सम्मान गर्नुको साँटो माग्नेको स्थितिमा पुर्‌‍याएको भन्दै उनले रोष प्रकट गरे । उनले भने, ‘अहिले मेरै गृह जिल्लाका नेता गृहमन्त्री हुनुहुन्छ, तर भेट्न जादा भेट समेत पाइन, प्रधानमन्त्रीलाई भेट्दा सहयोग हुन्छ मात्रै भन्नु हुन्छ ।’ जनआन्दोलनका सहभागि भएकाहरुलाई राज्यले गरेको व्यवहार देख्दा उनलाई पीडा पनि हुन्छ। ‘त्यति बेला प्रजातन्त्र ल्याउनुपर्छ भनेर घर त्यागेर ‘बा’कै विरुद्ध आन्दोलनमा गए, तर अहिले मागेर खाने अवस्था भएको छ’ खड्काको गुनासो छ, ‘घाइते भए देखि राज्य संग पुनस्र्थापन र राहतको माग गरेर निवेदन दिइरहेको छु तर कसैले सुन्दैन।’

उपचारका लागि ललितपुरमा रहेको घर समेत बेचेको बताउने खड्काले पैसा नपुगेपछि अहिले सडकमा माग्नुपर्ने स्थिति आएको बताए। ‘२०४६ सालको आन्दोलनमा सबै भन्दा पहिले राजा महेन्द्रको शालिक तोड्ने बेला मलाई गोली हानिएको थियो, उनले भने, ‘मंसंगैका केही साथीहरु सहिद भए, म घाइते भएर बाँचेको छु।’ राहतका लागि राज्यका सबै ठाउँ धाउँदा पनि आफुले केही नपाएको उनको गुनासो छ। ‘आन्दोलनले परिवार टुटाया , शरीर ढाल्यो तर राज्येले वास्ता गरेन, दाङको तुलसीपुरमा सोमबार सहयोग माग्दै हिडेका खड्काले पीडा सुनाउँदै भने, ‘हामी लडेर प्रजातन्त्र ल्यायौं, तर राज्यले हामीलाई जिउँदै मार्‍यो ।

कति नेता भए, प्रधानमन्त्री भए, राष्ट्रपति भए, मन्त्री भए तर जनआन्दोलनको घाइते म सडकमा आएर माग्ने भएको छु।’ श्रीमती र छोराको आफुलाई कुनै पत्तो नभएको बताउने खड्काले अहिले एक जना छोरी आफुसंग रहेको बताए । उनले छोरीको शिक्षामा समस्या भएपछि एक संस्थालाई आग्रह गरेर छोरीलाई पढाइरहेको दुखेको सुनाए। अन्नपुर्ण पोष्टबाट

प्रकाशित मिति: Jul 25, 2017

प्रतिक्रिया दिनुहोस्