Logo
१२ श्रावण २०८१, शनिबार
(July 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामूहिक मृत्यु प्रकरणः पूजाले फिर्ता गरिन् जग्गा

काभ्रे : बनेपा बसपार्क नजिकैको होटलमा सामुहिक मृत भेटिएका दाहाल परिवारको अन्त्येष्टि गरिएको छ । शुक्रबार बनेपाको बसपार्कमा रहेको गौतम भोजनालयमा राजाराम दाहालसहित उनका बुबा हरिभक्त, आमा हरिमाया, र बहिनी रञ्जनाले मृत फेला परेका थिए । एक्लै सम्पत्ति खानका लागि मात्रै सम्बन्ध विच्छेदको कागज गरि राजारामसँगै बस्दै आएकी भनिएकी कान्छी श्रीमती भने किरियामा बसिनन् ।

दाहासस्कार पछि मृतक राजारामकी जेठी श्रीमती कमला र हरिभक्तका भाईहरु रामभक्त र विष्णुभक्त किरिया बसेका छन् । आफूले ८ महिना अघि नै सम्बन्ध विच्छेद गरेको भन्दै उनले किरिया गर्न नमानेको गाउँलेहरुले बताए । आफ्ना बिषयमा समाचार बाहिर ल्याएको भन्दै उनले स्थानीयलाई नछोड्ने भन्दै धम्की दिएको समेत गुनासा आएका छन् ।

यसैबीच सम्पत्तिकै कारण सामूहिक आत्महत्या गरेको खुलेपछि पूजा दाहालले सोमबार जिल्ला मालपोत कार्यालयबाट जेठी श्रीमती कमला र उनका छोरा सुरजका नाममा जग्गा फिर्ता गरेकी छिन् । उनकै कारण घटना घटेको आरोप लागेपछि सम्बन्ध विच्छेद हुनुअघि २०७३ मंसिर ७ गते सासू हरिमाया दाहालको नामबाट उग्रचण्डी नाला ६ को कित्ता नम्बर ३३४ को ५ रोपनी ८ आना २ पैसा ३ दाम जग्गा बकसपत्र गरी लिएको जग्गा मध्ये ५ रोपनी जग्गा पूजाले राजारामकै जेठी श्रीमती कमला र उनका छोरा सुरजलाई पास गरिदिएकी हुन् ।

जग्गा पास गरिदिएलगत्तै तीन दिनदेखि शिक्षण अस्पताल महाराजगन्जमा राखिएका शवहरूको परीक्षण गरी पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । पूजाले जेठीको अंश नदिने नियतले परिवारकै सल्लाहमा अंश बुझेर सम्बन्ध विच्छेद गरेको तथ्य सार्वजनिक भएको थियो । सोही तथ्य सार्वजनिक भएपछि जेठी र कान्छी श्रीमतीका आफन्तहरूको छलफलबाट बकसपत्र गरेर लिएको पूजाको नामको जग्गा फिर्ता गर्ने सहमति भएपछि पूजाले मालपोत कार्यालयमा पुगेर जग्गा फिर्ता गरिदिएकी हुन् ।

सासू हरिमाया दाहालको नाममा रहेको सम्पत्ति २०७३ मंसिर ७ गते आफ्नो नाममा बकसपत्र गराएर श्रीमान् राजारामसँग २०७३ मंसिर ९ गते जिल्ला अदालत काभ्रेपलाञ्चोकमा दर्ता भएको सम्बन्ध विच्छेदको मुद्दा १२ गते फैसला पछि २३ दिन अर्थात् २०७३ पुस ५ गते पशुपति श्रेष्ठको साविक दक्षुटोल–१ मा रहेको कित्ता नम्बर ६७९ बाट कित्ता नम्बर ९७९ मा २ आना २ दामको जग्गा र सोही जग्गामा बनेको तीनतल्ले घर पूजाले बकसपत्र गरी लिएकी थिइन् ।

उक्त घरको २५ लाख ऋण भएकाले पूजाले नै सकार्ने सहमति भएको छ । यसैबीच काभ्रे प्रहरी प्रमुख सहकुलबहादुर थापाले घटनाको अनुसन्धान भइरहेको चन्दै अझैं निश्कर्षमा पुग्न नसकिएको बताएका छन् ।

प्रकाशित मिति: Jul 25, 2017

प्रतिक्रिया दिनुहोस्