Logo
२ जेष्ठ २०८१, बुधबार
(July 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘संशोधनको कुरा छोडौं, अब चुनावमा जाऔँ’ :राजपाका महासचिवहरु

काठमाडौँ :  राष्ट्रिय जनता पार्टी नेपालमा तेस्रो चरणको स्थानीय तहको चुनावमा भाग लिन दबाब बढेको छ । दुई दिनसम्म चलेको महासचिव, सहमहासचिव र प्रवक्ताहरुको बैठकले सो दबाब दिएको हो । राजपा नेपालमा ३१ जना महासचिव, ३४ जना सहमहासचिव र ८ जना प्रवक्ता रहेका छन् ।

पदाधिकारी तथा केन्द्रीय समिति बैठकको तयारीका लागि उक्त बैठक बसेको थियो ।  पार्टीका संयोजक महन्थ ठाकुरको संयोजक महन्थ ठाकुरको लगायतका नेताहरुको उपस्थितिमा भएको छलफलमा बोल्ने अधिकाँश महासचिव तथा सहमहासचिवहरुले संगठन निर्माणका लागि भएपनि चुनावमा जानुपर्ने सुझाव दिएका छन् ।

सधैँ आवेगको राजनीति चल्दैन, कहिले काहीँ राजनीतिको रणनीति फेरिनुपर्छ भन्ने सुझाव उनीहरुले दिएका छन् । राजपा नेपालका महासचिव जितेन्द्र सोनलले अगामी चुनावका लागि पनि पार्टीले स्थानीय तहको चुनावमा भाग लिनुपर्ने सुझाव दिएका छन् । ‘यसपालीको स्थानीय तहको चुनावमा भाग लिन सकिएन भने अगामी संसदीय चुनाव जित्न सकिँदैन,’ उनको भनाई उद्धृत गर्दै स्रोतले जनाएको छ । सरकारस्तरबाट हुने माग पूरा भयो भने चुनावमा जाँदा नै राम्रो हुने उनको सुझाव थियो ।

अर्का महासचिव मनिष सुमनले सविधान संशोधन नभएसम्म चुनावमा भाग लिदैँनौ भन्नु नै राजपा नेपालका लागि गलत भएको धारणा राखेका थिए । ‘यो चार बुँदे संविधान संशोधन विधेयक प्रस्ताव पारित भयो भने के मधेशको सबै समस्या समाधान हुन्छ ? त्यसपछि मधेशले आन्दोलन वा कुनै प्रकारको संघर्ष गर्नु पर्दैन ?,’ भन्ने उनले प्रश्न गरेको थिए ।

‘राजपा नेपालले सविधान संशोधनको विषयलाई रणनीतिक रुपमा उठाएको भए सायद यतिखेरसम्म पूरा भइसकेको हुन्थ्यो,’ उनले बैठकमा भने, ‘तर, बालहठ देखाएर ठूला दललाई अझै खेल्ने मौका दिएका छौँ ।’ उनले सरकारसँग कुरा गरेर एक दुई गरेर के के माग पूरा गर्दैछ त्यसको आधारमा चुनावमा भाग लिँदा नै राम्रो भनि सुझाव दिएको बैठकमा सहभागि एक नेताले बताए ।

अर्का महासचिव केशव झाले पनि तेस्रो चरणमा भइरहेको स्थानीय तहको चुनावमा भाग लिनु नै पार्टीका लागि हितकर हुने सुझाव दिएका थिए । ‘जबसम्म संगठन रहँदैन तबसम्म कुनै पनि माग पूरा हुँदैन । सबै मुद्दा गौण हुन्छ,’ उनले भने । महसचिव झाले चुनावमा भाग लिएपछि मात्र संगठन निर्माण हुने सुझाव दिएको स्रोतले जनाएको छ ।

उनले भनेका थिए, ‘यो संसदबाट कुनै संविधान संशोधन हुँदैन भन्ने कुरा पार्टीले बुझ्नुपर्छ । यसैगरि खेलाई रहन्छ र अन्त्यमा गएर केही प्राप्त हुँदैन र त्यतिबेलासम्म संगठन समाप्त भइसकेको हुनेछ ।’ अन्य महासचिव, सहमहामन्त्री तथा प्रवक्ताहरुले पनि आफ्नो धाराण राख्ने क्रममा विशेष गरी चुनावमा भाग लिनुपर्ने कुरामा नै विशेष जोड दिएको स्रोतको दावी छ ।

साउन १८ गतेदेखि पदाधिकारीको र २१ गतेदेखि केन्द्रीय समितिको बैठकमा पनि यी सुझावहरुको बारेमा छलफल हुने बताइएको छ । भोलिदेखि सहअध्यक्ष, वरिष्ठ नेता, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरुको बैठक बोलाएर यो विषयमा छलफल हुने बताइएको छ । साथै, महासचिवहरुको बैठकले केन्द्रीय समितिको बैठक मधेशमा गर्न सुझाव दिएको छ ।

प्रकाशित मिति: Jul 25, 2017

प्रतिक्रिया दिनुहोस्