Logo
२२ बैशाख २०८१, शनिबार
(July 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलेसिया पराजित, नेपालको चौथो जित

सिंगापुरमा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया क्षेत्रको छनोटमा नेपालले चौथो जित हासिल गरेको छ ।
बालेस्टीर रोडस्थित इन्डियन एसोसियसन ग्राउण्डमा मलेसियाले दिएको ९० रनको लक्ष्य नेपालले मात्र २२ ओभर २ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।

सोमबार भएको पाँचौ खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै नेपालले चौथो जित निकालेको हो ।मलेसियाविरुद्ध खराब सुरुवात गरेको नेपाललाई मध्येक्रममा ब्याट्सम्यानद्वय रोहित कुमार पौडेल र दिपेन्द्र सिंह एरीले टिकेर खेल्दै जित दिलाएका हुन् ।

नेपालको जितमा दुवैले ५३ रनको साझेदारी गरे । रोहितले अविजित ३४ तथा दिपेन्द्र १९ रनमा अविजित रहे । त्यस्तै सन्दिप सुनारले १५ तथा अनिल साहले १२ रन बनाए । मलेसियाका लागि भिरणदिप सिंहले ३ तथा हाफिजुदिन गफारले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ३५ ओभर १ बलमा अलआउट हुँदै ८९ रन बनाएको थियो । मलेसियाविरुद्ध टस जितेपछि पहिले बलिङ गर्ने कप्तान सन्दिप लामिछाको निर्णय सहि साबित भयो ।

नेपाली बलर हावी भएपछि मलेसियाको पारी सुरुबाटै धर्मराएको थियो । मलेसियाका ओपनर सायद जजिजले ४६ रन बनाएपनि अन्य ब्याट्सम्यानले उलेख्य रन जोड्न सकेनन् ।

यस्तै मलेसियाका कप्तान भिरणदिप सिंह र शूनभिन्दर सिंहले समान १० – १० रन जोडे । मलेसियालाई कम स्कोरमा रोक्न नेपाली कप्तान सन्दिपले किफायती बलिङ गर्दै मात्र १३ रन खर्चिएर ७ विकेट लिए ।

योसँगै सन्दिपले जारी प्रतियोगितामा २३ विकेट आफ्नो नाममा लेखाएका छन् । यस्तै साहब आलमले २ तथा रिजन ढकालले १ विकेट लिए ।

डबल राउण्ड रोबिनका आधारमा जारी एसिया क्षेत्रको छनोटमा नेपालले मलेसियालाई दोस्रो पटक पराजित गरेको हो ।
नेपालले छनोटको दोस्रो खेलमा पनि मलेसियालाई ५ विकेटले नै हराएको थियो । यो जितसँगै नेपालले विश्वकपमा छनोट हुने गणितीय सम्भावनालाई कायम राखेको छ ।

छनोटमा नेपालले ५ खेलमा ४ मा जित र १ खेलमा हार ब्यहोरेको छ । र, नेपाल ८ अंकसहित दोस्रो स्थानमा छ । लगातार चार खेल जितेको अफगानिस्तान ८ अंक जोडेर शिर्ष स्थानमा छ ।

छनोटको शिर्ष टोली अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुनेछन् । अब नेपालले अन्तिम खेलमा मंगलबार अफगानिस्तानको सामना गर्ने छ ।

नेपाललाई विश्वकपमा स्थान बनाउन अफगानिस्तानलाई भारी अन्तरले पराजित गर्नु पर्ने हुन्छ । तर, आफ्नो तेस्रो खेलमा अफगानिस्तानसाग १४१ रनको लज्जास्पद हार बेहोरिसकेको नेपालको लागि त्यो सहज भने हुने छैन ।

प्रकाशित मिति: Jul 24, 2017

प्रतिक्रिया दिनुहोस्