Logo
५ जेष्ठ २०८१, शनिबार
(July 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विचार : न्याय पाउन पनि न्यायाधीश नै बन्नुपर्ने ?

गोपाल पराजुलीले न्याय पाउनुभयो, तर न्याय पाउन उहाँले आफैँ सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्नुप¥यो । सर्वोच्च अदालतको न्यायाधीश मात्र रहँदा पनि उहाँ न्याय पाउनबाट वञ्चित हुनुप¥यो भने साधारण मानिसले कस्तो जीवन बाँच्नु परिरहेको होला, यस्तो प्रश्नको जवाफ खोज्ने कहाँ ? गोपाल पराजुली प्रधानन्यायाधीश बन्नुअघि उहाँको स्थानमा कोही प्रधानन्यायाधीश बनेर नै बसेका थिए र उनको एक मात्र काम, कर्तव्य र दायित्व केवल न्याय दिने मात्र थियो । गोपाल पराजुलीमाथि जन्ममिति बदलेर सेवाअवधि बढाउन खोजेको आरोप लाग्यो, उहाँको शैक्षिक योग्यताका प्रमाणपत्रमाथि प्रश्न उठाइयो । पराजुलीले आफ्ना शैक्षिक योग्यताका प्रमाणपत्र सक्कली या नक्कली के हो त्यसको जाँच गर्न माग गर्नुभयो, न्यायसेवा ऐनमा स्पष्ट व्यवस्था भएअनुरूप जन्ममिति खुल्ने आधिकारिक दस्तावेजका आधारमा आफ्नो सेवाअवधि सुनिश्चित गर्न बारम्बार आग्रह गर्नुभयो, तर प्रधानन्यायाधीशकै कुर्सीमा बसेका मान्छेले न्यायाधीशको मागमा संवेदनशीलता दर्शाएनन् ।

-देवप्रकाश त्रिपाठी

गोपाल पराजुली न्यायाधीश हुनुहुन्थ्यो, उहाँ आफैँ सर्वोच्च अदालतको न्यायाधीश बन्न सक्ने–पाउने अवस्थामा हुनुहुन्थ्यो, त्यसैले अन्ततः उहाँलाई न्याय मिलेको छ । तर, न्यायाधीश नबनेका, बन्न नपाएका या नसकेका मानिसले चाहिँ न्याय पाउन के गर्ने हो, त्यसको बाटो देखाउने दायित्व पराजुलीकै भागमा परेको छ । एउटा न्यायाधीश बनेको व्यक्तिले पूर्वाग्रही व्यवहार प्रस्तुत गर्दा कतिसम्म पीडा हुँदोरहेछ र एउटा न्यायाधीशले चाह्यो भने कतिसम्म अन्याय गर्न सक्दोरहेछ भन्ने आत्मानुभूति गोपाल पराजुलीलाई धेरै राम्रोसँग भएको हुनुपर्छ । अन्यायी र ढोंगीहरूलाई कतिपय ठूला भनिने सञ्चारगृहले महान् मानिसको रूपमा प्रचारप्रसार गरिँदा कति असैह्य वेदना हुँदो हो, त्यस्तो वेदना महसुस गर्ने पनि गोपाल नै हुनुहुन्छ । यदि पश्चिमाहरूको योजना र लगानीमा महान् बनाइएका कल्याण र सुशीलाहरू सही थिए र गोपाल पराजुलीको सत्य एवम् कानुनी धरातल कमजोर थियो भने संसदीय सुनुवाइका क्रममा उजुरी गर्न दिइएको दश दिनको समयसीमाभित्र पराजुलीविरुद्ध किन एउटै उजुरी परेनन् ? पराजुलीको उमेर र शैक्षिक योग्यताको प्रमाणपत्रबारे आफूले गरेको ठहर नै सही थियो भने ‘महान्’ बनाइएकी सुशीला कार्कीले संसदीय सुनुवाइ समितिमा उपस्थित भएर आफू ठीक र गोपाल पराजुली बेठीक भन्न किन सकिनन् ? अनि न्यायपालिकालाई आफ्नो कब्जामा लिएर अनेकौँ धन्दा चलाउँदै आएका कल्याण श्रेष्ठले सुनुवाइ समितिमा पराजुलीविरुद्ध एउटै प्रमाण पेस गर्न किन सकेनन् ? यस्ता प्रश्नको जवाफ सुशीला, कल्याण र तिनको पक्षपोषण गर्नेहरूबाट सम्भव नभएको स्पष्ट भइसकेको छ । कोपीहरूको भाजनमा पर्नुभएकैले त्यसबाट प्रताडित गोपाल पराजुलीको कार्यकालमा पीडितले न्याय पाउनेबाहेक अन्याय महसुस गर्नै नपर्ने अवस्थाको सिर्जना हुने अपेक्षा गरिएको छ । न्यायपालिकाका कामलाई पारदर्शी, विवेकपूर्ण र न्यायसम्मत बनाउन उहाँले निर्भीकतापूर्वक आवश्यक र उचित कदम चाल्नुभयो भने न्यायालयहरूमा अब फेरि कुनै कल्याण र सुशीला कार्कीहरूको प्रवेश हुन नपाउने या तिनकै जस्तो कार्यव्यवहारको पुनरोदय नहुने विश्वास गर्न सकिन्छ । उहाँको मुख्य भूमिका पनि न्यायालयमा न्यायबाहेक अन्याय कहिल्यै हुन सक्दैन भन्ने विश्वास स्थापित गर्नु नै हो । यसअघिका प्रधानन्यायाधीशहरूबाट भए–गरेका अविवेकी, अन्यायपूर्ण र गैरमानवीय एवम् गैरकानुनी कदमहरूलाई निर्भयपूर्वक सच्याउने काम गर्न सक्नुभयो भने गोपाल पराजुलीजस्ता व्यक्ति प्रधानन्यायाधीश हुनुको सार्थकता रहनेछ । दलगत आधारमा गरिने न्यायाधीश नियुक्ति र पजनीलाई निरुत्साहित गर्ने हिम्मत पनि सम्माननीय प्रधानन्यायाधीश गोपाल पराजुलीबाट नै प्रस्तुत हुने विश्वास गरिएको छ ।
प्लेटोले कुनै बेला भनेका थिए, शासन विवेकी मानिसले गर्नुपर्छ र दार्शनिक स्वभाव–चरित्रका मानिसबाट विवेकीय कार्यव्यवहार प्रस्तुत हुन सम्भव हुन्छ । वास्तवमा विवेकी र दूरदर्शी मानिसको राजमा पशुपन्छी पनि संरक्षित हुन्छन्, ढुक्कसँग बाँचेका हुन्छन् उनीहरू । जहाँ मानिससमेत सुरक्षित एवम् संरक्षित छैनन् भने त्यहाँ मानवराज छ भन्न कसरी सकिन्छ ?
देश कस्ता मानिसले कसरी चलाइरहेछन् भन्ने तथ्यबोध नभएका मानिसमा गोपाल पराजुली पर्नुहुन्न, देशमा जनता भएर बाँच्न कति मुस्किल छ भन्ने ज्ञान–चेत पनि उहाँमा रहेको विश्वास गरिन्छ । मानवता र प्रजातन्त्रका निम्ति कुनै समय लडाइँ लडेर जेल सजायसमेत भोग्नुभएका उहाँलाई देश र जनताले हरक्षण व्यहोरिरहेको पीडाबारे अवगत गराइरहनु पनि नपर्ला । सुरक्षित रहन आफैँ प्रहरी बन्नुपर्ने, आफू हिँड्ने बाटोमा कालोपत्रे हुन सडक विभागको हाकिम या भौतिक योजनामन्त्री हुनुपर्ने, वैदेशिक लगानीको अनुमति पाउन आफैँ एफडीआई (फरेन डाइरेक्ट इन्भेस्टमेन्ट, उद्योग मन्त्रालयअन्तर्गत) को कर्मचारी बन्नुपर्ने, खान पाउनका लागि भान्से बन्नुपर्ने, उपचार पाउन आफैँले अस्पताल खोल्नुपर्ने या नभए आफैँ स्वास्थ्यमन्त्री या डा. डाक्टर बन्नुपर्ने, प्रशासनिक सेवा लिन कर्मचारी बन्नुपर्ने, उद्यमी या उद्योगको मालिक बन्न लगानी गर्नु नपर्ने, बरु मजदुर बनेर पार्टीविशेषको सदस्यता लिए पुग्ने, संरक्षित रहन आफैँ नेता बन्नुपर्ने, पर्याप्त र शुद्ध पानी पिउन खानेपानी विभागकै कर्मचारी हुनुपर्ने, काठ–दाउरा पाउन वन कर्मचारी बन्नुपर्ने, आफ्नो जमिन सुरक्षित राख्न मालपोत या नापी कार्यालयका कर्मचारी आफैँ हुनुपर्ने र स्वच्छ हावा पाउन आफैँ वायु बन्नुपर्ने परिस्थिति जुन देशमा उत्पन्न भएको छ, न्यायाधीश पदमा बहाल रहनुभएको बेला गोपाल पराजुलीले न्याय पाउन नसक्दा न्याय पाउनसमेत प्रधानन्यायाधीश नै हुनुपर्ने भयो भन्ने सन्देश देशभरि प्रवाहित हुन पुगेको हो । यसप्रकारका सबै विकृत सन्देश प्रवाह हुने व्यवहारलाई नियन्त्रण गर्नु एउटा प्रधानन्यायाधीशको मात्र वशको कुरा नहुन सक्छ । तर, न्यायालयमा न्याय मात्र मिल्छ भन्ने सन्देश प्रवाहित गराउनचाहिँ उहाँको भूमिका सर्वाधिक महत्वपूर्ण हुने विश्वास गरिएको छ ।
प्लेटोले कुनै बेला भनेका थिए, शासन विवेकी मानिसले गर्नुपर्छ र दार्शनिक स्वभाव–चरित्रका मानिसबाट विवेकीय कार्यव्यवहार प्रस्तुत हुन सम्भव हुन्छ । वास्तवमा विवेकी र दूरदर्शी मानिसको राजमा पशुपन्छी पनि संरक्षित हुन्छन्, ढुक्कसँग बाँचेका हुन्छन् उनीहरू । जहाँ मानिससमेत सुरक्षित एवम् संरक्षित छैनन् भने त्यहाँ मानवराज छ भन्न कसरी सकिन्छ ? पहाड, खोलानाला, प्रकृति, जीवजन्तु, पन्छी, जलचर, कीटपतङ्ग सबैको कल्याण हुन्छ मानवराजमा । तर, यहाँ नदीलाई ढलमा रूपान्तरित गरिएको छ, खोलानालाका बाटो छेकिएका छन्, पहाड फोरिएका छन्, पहिरो चलाइएका छन्, लोप हुँदै गरेका वन्यजन्तुसमेत ठाउँका ठाउँ मारिएका छन् । हत्यारालाई रक्षक र देशकै मालिक मान्नुपर्ने बाध्यात्मक अवस्था पैदा गरिएको छ । जाति, भाषा, क्षेत्र र बेधर्मका कुरा गर्नेहरू महान् र देशको पक्षमा उभिनेहरू त्राहीमान हुनुपर्ने स्थिति बनाइएको छ । अनि यस्तै अवस्था–व्यवस्थालाई उन्नत र परिस्थितिलाई समुन्नत भन्न कर लगाइएको छ ।
शासक, प्रशासक र अगुवा भूमिकामा रहेकाहरूको कार्यव्यवहार कानुनी तथा सभ्यराजअनुकूल रहँदै नरहेको यस अवस्थामा प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल प्रयासले धेरै ठूलो सकारात्मक परिवर्तन ल्याउने आशासम्म गरिए पनि विश्वास गरिनु उचित होइन । उहाँले न्यायापालिकामा हुने अनियमितता र अभद्र एवम् अवाञ्छित कार्य व्यवहारलाई निरुत्साहित गर्न सक्नुभयो, न्यायिक कार्यलाई ज्यादा पारदर्शी तुल्याउन र गरिबले समेत न्याय पाउन सक्ने अवस्था पैदा गरिदिनुभयो भने अहिलेको स्थितिमा योभन्दा ठूलो अर्को कुनै योगदान सायद हुनेछैन । न्यायमूर्तिको अन्यायपूर्ण एवम् पूर्वाग्रही व्यवहार हुँदा कतिसम्म पीडा हुन सक्छ भन्ने आत्मानुभूति राम्रोसँग गर्नुभएका प्रधानन्यायाधीश गोपाल पराजुलीले पनि केही गर्न सक्नुभएन भने सम्झनुपर्छ– नेपालमा जीवित रहिन्जेल न्याय पाउन सकिँदैन, पशुपतिनाथकै संसारमा मात्र न्याय सम्भव छ ।

प्रकाशित मिति: Jul 23, 2017

प्रतिक्रिया दिनुहोस्