यादवको दावी : राजपा चुनावमा सहभागी हुने
काठमाण्डौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राष्ट्रिय जनता पार्टी (राजपा) पनि तेस्रो चरणमा हुने प्रदेश नं २ को चुनावमा सहभागी हुने दावी गरेका छन् । उनले भने, ‘तेस्रो चरणअन्तर्गत प्रदेश नं– २ को ८ जिल्लामा तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनेमा कसैले शंका गर्नुहुदैन् ।’
शुक्रबार महोत्तरीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले तोकिएकै मितिमा प्रदेश नं. २ मा स्थानीय तह निर्वाचन सम्पन्न हुने बताउँदै राजपा सहभागी हुने बताएका हुन् ।
प्रमुख आयुक्त यादवले निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको जानकारी दिँदै मतपत्र, मतपेटिका, कर्मचारी, सुरक्षालगायत सबै तयारी चुस्तदुरुस्त अवस्थामा रहेकोले आगामी असोज २ मा नै तेस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गरे ।
यसअघि प्रमुख आयुक्त यादवले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित जिल्ला निर्वाचन कार्यालयको निरीक्षण गरी त्यहाँको निर्वाचन तयारी अवस्थावारे जानकारी लिए । रासस