Logo
१२ श्रावण २०८१, शनिबार
(July 19, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लौ पढ्नुस : यस्तो रहेछ राप्रपा विवादको भित्री रहस्य

काठमाण्डौ । टुटफुटमा उच्च कीर्तिमान राख्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी पुनः विभाजनको स्थितिमा पुगेको छ । चार महिनाअघि २०७३ को फागुनमा एकता महाधिवेशन गरेको राप्रपाले त्यसअघि मङ्सिर ६ गते एक समारोहको आयोजना गरी पार्टी एकीकरण भएको घोषणा गरेको थियो ।

एकता महाधिवेशनको केही सातापछि नै डा. प्रकाशचन्द्र लोहनीलगायतका केही नेताले राप्रपाबाट अलग्गिएर नयाँ दल खोलेका थिए । एकता महाधिवेशन भएयता पार्टी अध्यक्ष कमल थापाको कार्यशैली र उपाध्यक्ष दीपक बोहोराको ‘कूटनीतिक व्यवहार’ले पार्टीमा तनाव र असन्तुष्टि बढाएको बुझिन्छ । पशुपतिशमशेर राणा र कमल थापाबीच ‘सन्तुलनकारी’ भूमिका निर्वाह गर्न खोज्दा दीपक बोहोरा दुवै पक्षबाट सन्देहको घेरामा परेका छन् ।

राप्रपाभित्र असन्तुष्टि बढ्दै गएको परिपे्रक्ष्यमा कमल थापाले आफू सुरक्षित हुनका लागि ४२ जनालाई एकलौटी ढङ्गले केन्द्रीय कार्यसमितिमा मनोनीत गरेपछि राप्रपाको विवाद उत्कर्षमा पुगेको हो । विवादका क्रममा कमल थापालाई पूर्ण साथ दिनेहरूमा राजीव पराजुली, राजेन्द्र लिङ्देन, धवलशमशेर राणा, मोहन श्रेष्ठ, सुशील श्रेष्ठ, दिनेश श्रेष्ठ, जयन्त चन्द, रोशन कार्की, भुवन पाठक र राजाराम बर्तौलालगायत रहेका छन् भने बुद्धिमान तामाङ, बालाराम घर्तीमगर, हरिबहादुर बस्नेत, विक्रम पाण्डे, सुनीलबहादुर थापा र राजाराम श्रेष्ठलगायतका पुराना तथा प्रभावशाली मानिएका नेताहरू कमल थापाको कार्यशैलीप्रति असन्तुष्ट भए पनि अहिलेसम्म तटस्थ भूमिकामा देखापरेका छन् ।

त्यसैले पशुपतिशमशेर राणाको पक्षमा खुलेर लागिपर्नेमा नेता ठाकुरप्रसाद शर्मा मात्र देखिएका छन् । कमल थापाले ४२ केन्द्रीय सदस्य मनोमानी किसिमबाट मनोनीत गरेपछि पशुपतिशमशेर पक्ष रक्षात्मक अवस्थामा पुगेको छ । तर, मन्त्रिमण्डलमा सामेल हुने विषयमा कमल थापा पशुपति पक्षको चित्त बुझाउन सफल भएमा केन्द्रीय सदस्य मनोनयनलाई लिएर उक्त पक्षले बाधा–विरोध नगर्ने सम्भावना छ । सरकारमा सहभागिताकै विषयमा कुरा मिल्न सकेन या कमल थापाले असन्तुष्ट पक्षलाई विश्वासमा लिन सकेनन् भने राप्रपाको विवाद पार्टी विभाजनसम्म पुग्ने खतरा छ ।

राप्रपा विवादमा सैद्धान्तिक विषय एजेण्डा बनेको छैन । राजतन्त्रको पुनर्वहाली र हिन्दूराष्ट्रलाई मूल एजेण्डा बनाएको कमल थापा नेतृत्वको तात्कालिक राप्रपा नेपालले उक्त एजेण्डामाथि स्वामित्व छोडेपछि राप्रपाभित्र सो विषय कमल थापाको खिल्ली उडाउन बेलाबखत प्रयोगमा आए पनि यो सैद्धान्तिक विवादको विषय बनेको छैन । पशुपतिशमशेर राणा हिन्दूराष्ट्रको पक्षमा लचिलो भए पनि राजसंस्था पुनर्वहालीको एजेण्डामा कहिल्यै सकारात्मक थिएनन् ।

कमल थापा २०७२ असोज ३ गते जारी गरेको गणतन्त्रात्मक एवम् धर्मनिरपेक्ष संविधानलाई विश्वकै उत्कृष्ट भन्दै विश्वव्यापी प्रचारबाजीमा उत्रिएपछि नेपाललाई हिन्दूराष्ट्रका रूपमा देख्न चाहने स्वदेशी तथा विदेशी शक्तिहरू थापासँग रुष्ट भएका छन् । गत मङ्सिरमा भएको एकता घोषणासभामा भारतीय जनता पार्टीले निमन्त्रणा पाएर पनि कुनै प्रतिनिधि नपठाउनुको कारण पनि कमल थापाकै क्रियाकलाप भएको बताइन्छ । सो सभामा भाजपा प्रतिनिधि नआउँदा कमल थापाले ठूलो झट्का महसुस गरेका थिए ।

कमल थापाप्रतिको विश्वास र समझदारीले भन्दा पनि बाध्यताले पशुपतिशमशेर पक्ष पार्टी एकताका निम्ति सहमत भएको थियो भने कमल थापाले चाहिँ ३७ जना सभासद्सहितको चौथो ठूलो दलको नेता बन्ने महत्वकाङ्क्षाका कारण एकतामा सामेल भएको बताइन्छ ।
यतिबेला राप्रपा पुनः सरकारमा सहभागी हुने गृहकार्य चलिरहेको छ र यसक्रममा कमल थापा उपप्रधानमन्त्रीसहित ‘महत्वपूर्ण’ मन्त्रालय लिएर मन्त्रिमण्डलमा आफैँ सहभागी हुन प्रयास गर्दै छन् ।

राप्रपाको अर्को पक्ष कमल थापाले पार्टीमा छलफल नै नगरी उपप्रधानमन्त्री पदबाट राजीनामा दिनुको कारण जान्न चाहन्छ र सरकारमा कमल थापाबाहेक अरू कसैले नेतृत्व गरेर जानुपर्छ भन्ने धारणा राख्दछ । आन्तरिक विवादको एउटा मुख्य कारण सरकारमा सहभागितासम्बन्धी विषय भएको बुझिन्छ । कमल थापाले ४२ केन्द्रीय सदस्य मनोमानी किसिमबाट मनोनीत गरेपछि पशुपतिशमशेर पक्ष रक्षात्मक अवस्थामा पुगेको छ ।

तर, मन्त्रिमण्डलमा सामेल हुने विषयमा कमल थापा पशुपति पक्षको चित्त बुझाउन सफल भएमा केन्द्रीय सदस्य मनोनयनलाई लिएर उक्त पक्षले बाधा–विरोध नगर्ने सम्भावना छ । सरकारमा सहभागिताकै विषयमा कुरा मिल्न सकेन या कमल थापाले असन्तुष्ट पक्षलाई विश्वासमा लिन सकेनन् भने राप्रपाको विवाद पार्टी विभाजनसम्म पुग्ने खतरा छ ।

हाल तटस्थझैँ रहेका नेताहरू बालाराम घर्तीमगर, हरिबहादुर बस्नेत, धु्रवबहादुर प्रधान, बुद्धिमान तामाङ, सुनीलबहादुर थापा र विक्रम पाण्डेसमेतलाई विश्वासमा लिन नसकेमा कमल थापा राजनीतिक रूपमा कमजोर बन्ने र पार्टी पुनः विभाजित हुने निश्चित मानिएको छ । यही साउन ४ गतेदेखि सुरु हुने राप्रपा केन्द्रीय समितिको बैठक यसर्थमा ऐतिहासिक हुन सक्ने देखिएको छ ।

प्रकाशित मिति: Jul 19, 2017

प्रतिक्रिया दिनुहोस्