Logo
११ श्रावण २०८१, शुक्रबार
(July 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-भारत सम्बन्ध बिग्रने कुरामा चनाखो हुनुपर्छ : भाजपा प्रवक्ता

विराटनगर : भारतीय जनता पार्टी (भाजपा) का प्रवक्ता एवं पूर्वमन्त्री साहनवाज हुसेनले नेपाल-भारतबीचको सदियौंदेखि कायम रहेको भाइचाराको सम्बन्ध बिग्रन सक्नेतर्फ चनाखो हुनु पर्नेमा जोड दिनु भएको छ । ‘वर्षौदेखिको दुई देशको आपसी र पारिवारिक सम्बन्धलाई विगार्नका लागि अरुले ठूलो खेल खेल्न सक्छन्,’ उहाँले भन्नुभयो, ‘यसमा नेपाल र भारतनै चनाखो हुनुपर्छ । नेपाल र भारतबीचको पशुपति नाथले जोडेको दर्विलो सम्बन्धलाई झन् प्रगाढ बनाएर लैजानु पर्नेमा उहाँको जोड छ। मोरङ व्यापार संघले शुक्रबार विराटनगरमा आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा धर्म र संस्कृतिले जोडेको दुई देशको सम्बन्ध दाजुभाइको जस्तो रहेको उहाँले स्पष्ट पार्नु भयो ।

’सम्बन्ध विगार्ने खेल कसले खेल्छ भन्ने कुरामा स्पष्ट नपारे पनि उहाँले भाइचाराको सम्बन्धलाई हेर्न र देख्न नसक्नेले चलखेल गर्न सक्ने बताउनु भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा नेपालीले गरेको उच्च सम्मानको स्मरण र प्रशंसा गर्दै हुसेनले नेपाल-भारतबीच रहेको अपासी सहयोग र सद्भावको सम्बन्ध कायम हुने विश्वास व्यक्त गर्नु भयो । दुई देशबीचको सम्बन्ध जोड्ने सेतुको काम नेपालकै प्रसिद्ध धाम पशुपतिनाथले गरेको बताउँदै हुसेनले भन्नुभयो, ‘पशुपतिनाथको दर्शन गर्न धेरै भारतीय तीर्थालु आउँछन्। भारतका ठूला धार्मिक तीर्थस्थलको दर्शन गर्न नेपालीहरु पनि जाने गरेका छन् ।’ दुई देशका धार्मिक पर्यटकका कारण बलियो बन्दै गएको सम्बन्ध चानचुने ठान्न नहुने उहाँको भनाइ छ। उहाँले नेपाल र भारत दुईवटा देश भए पनि सम्बन्ध भने एउटा परिवारका सदस्यको जस्तो भएको बताउनु भयो ।

‘हाम्रो सम्बन्ध रोटीबेटीको मात्रै हैन। रगतको सम्बन्ध हो,’ हुसेनले भन्नुभयो,‘ साथी जो पनि बन्न सक्छ। तर हामीबीच धर्मले सेतुको काम गरेर बनाइदिएको खुनको सम्बन्ध छ।’ असल छिमेकी भएकाले नेपालका बारेमा चिन्ता गर्नु भारतको दायित्व भएको उहाँको भनाइ छ। हुसेनले भन्नु भयो, ‘नेपालका बारेमा भारतले संधै चिन्ता लिइरहन्छ। तर हस्तक्षेप भने गर्दैन।’ नेपाल आफैमा सार्वभौमसत्ता सम्पन्न मुलुक भएको र यहाँका जनतामा राम्रो नराम्रो बुझ्न सक्ने क्षमता भएकाले नेपालको मामिलामा भारतले हस्तक्षेप नगर्ने उहाँले स्पष्ट पार्नु भयो।

पूर्व मन्त्री हुसेनले आफ्ना बारेमा निर्णय गर्ने अधिकार नेपाल र नेपालका जनतालाई नै भएकाले भारतले हस्तक्षेप गर्नुपर्ने आवश्यकता पनि नठान्ने बताउनु भयो। नेपाललाई हिन्दुु राज्य कायम गर्ने सम्बन्धमा मागिएको धारणामा उहाँले भन्नु भयो, ‘धार्मिक विषय नेपाली जनताको इच्छाको विषय हो। नेपालको आन्तरिक धार्मिक मामिलामा भारतले कुनै पनि हस्तक्षेप गर्दैन।’ उहाँले भारतले सँधै नेपाल र नेपालीको हित चाहने भएकाले नेपालको सार्वभौमिकताको सँधै सम्मान गरिरहने बताउनु भयो।

कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष एवं सांसद पवनकुमार सारडाले भारतमा रहेका नेपालीका समस्या समाधान लगायतका विभिन्न माग राख्नु भएको थियो। नेपाल-भारत सीमानाको जोगवनीबाट भारतका प्रशिद्ध सहरमा सिधै रेल सेवाको पहुँच पुग्नु पर्ने माग राख्दै उहाँले भन्नु भयो, ‘यसको लाभ नेपाल र भारत दुबै देशले लिन सक्नु पर्छ भन्ने हो। यसले नेपालको व्यवसायिक क्षेत्रमा ठूलो सहयोग पनि पुग्ने छ।’ सारडाले भारतीय रेलमा यात्रा गर्ने नेपाली बृद्धबृद्धालाई भारतीयलाई झैँ ५० प्रतिशत छुट दिनु पर्ने र भारतमा रहेका नेपाली कामदारलाई नागरिकता लिएर जाँदा बैँक खाता खोल्न सक्ने व्यवस्था गर्नु पर्ने माग पनि गर्नु भएको छ।

जोगवनीदेखि विराटनगर सम्म जोड्ने रेल-वे निर्माणलाई गति दिन माग गर्दै उहाँले भन्नु भयो, ‘एकीकृत भन्सार जाँचचौकी निर्माण र संचालनलाई प्राथमिकतामा राख्नु पर्छ।’ नेपालको व्यापार घाटा पूर्ति गर्नका लागि भारत सरकारको सहयोग अपरिहार्य रहेको सारडाको भनाइ छ। नेपाल र भारतबीचको सम्बन्धका सवालमा निक्कै हौसिएर प्रस्तुत हुनु भएका भारतीय पूर्व मन्त्री हुसेनले भन्नु भयो, ‘पाकिस्तान र चीन भने हाम्रा सत्रु राष्ट्रको सूचीमा छन्।’ भारतले पनि वर्षौदेखि व्यापार घाटा बेहोरिरहेको बताउँदै उहाँले चीन र पाकिस्तानसंग व्यापारिक सम्बन्ध विस्तार गर्न नसक्दा पनि व्यापार घाटा कम गर्न नसकिएको तर्फ ‘इङ्गित’ गर्नुभयो।

उहाँले नेपाल र भारतका लागि जोगवनी मुख्य गेटवे भएकाले यसलाई भारतले सबै भन्दा सुन्दर र समृद्ध नाका बनाउन चाहेको बताउनु भयो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेत्रृत्वको दलको आफू प्रवक्ता भएकाले नेपालमा देखिएका व्यापारिक र औद्योगिक समस्यालाई भारत सरकारसंग राखेर समाधान गर्नेतर्फ आफू लाग्ने प्रतिवद्धता हुसेनले व्यक्त गर्नु भयो। ‘म अहिले भारतको मन्त्री त हैन,’ हुसेनले भन्नु भयो, ‘मन्त्री नभए पनि सरकारमा सम्मिलित पार्टीको प्रभावशाली नेता भएकाले नेपालका व्यापारिक लगायतका समस्या समाधान र नेपाली उद्योगी व्यापारीले राखेका मागलाई तत्काल भारत सरकारसंग राख्ने छु।

प्रकाशित मिति: Jul 14, 2017

प्रतिक्रिया दिनुहोस्