Logo
८ जेष्ठ २०८१, मंगलबार
(July 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाबुरामको बहिर्गमनले माओवादीलाई धक्का !

काठमाडौं, २५ असार । जनयुद्धका कमाण्डरको सुचिमा रहने डा. बाबुराम भट्टराईले पार्टी छाड्दा स्थनाीय तह चुनावमा माओवादी केन्द्रलाई धक्का लाग्यो । उनको बहिर्गमनका कारण माओवादी केन्द्रले दुई दर्जनभन्दा बढी स्थानीय तह गुमाउनुपर्यो ।

गोरखा, रसुवा, धादिङ, लमजुङ, सिन्धुली र पूर्वका केही पहाडी जिल्लामा नयाँ शक्तिकै उम्मेदवारीका कारण माओवादी पराजित हुन पुग्यो । पहिलो चरण निर्वाचन भएका गोरखाका आठ, रसुवाका तीन, धादिङका दुई तथा लमजुङ र सिन्धुलीका एक एक तहमा बाबुराम भट्टराईको पार्टीका कारण हार्नुपरेको निष्कर्ष माओवादी केन्द्रले निकालेको छ ।

त्यस्तै, दोस्रो चरणमा पनि मोरङ, धनकुटा, ताप्लेजुङलगायत पूर्वीपहाडी जिल्लाका १० भन्दा बढी स्थानीय तह नयाँशक्तिकै कारण गुमाउनुपरेको माओवादी नेताले बताएका छन् ।

माओवादीका एक नेताले भने,‘बाबुरामजीले पार्टी नछाडेको भए गोरखा, रसुवालगायत जिल्लाका प्रायः स्थानमा हामी सजिलै जित्न सक्थ्यौं ।’ स्थानीय निर्वाचनको समीक्षाका लागि माओवादी केन्द्रले २ साउनमा पार्टी सचिवालयको विस्तारित बैठक बोलाएको छ ।

जित/हारको कारण माओवादीले त्यही बैठकबाट खोजी गर्ने बताइएको छ । यस्तै, जित्ने आकलन गरिएका गोरखाका पालुङटार नगरपालिका, गोरखा नगरपालिका, धार्चे गाउँपालिका, गण्डकी गाउँपालिका, सिरानचोक गाउँपालिका, भीमसेन गाउँपालिका, रसुवाको कालिका गाउँपालिकालगायत स्थानीय तह माओवादी केन्द्रले गुमाएको छ ।

यी स्थानमा माओवादी केन्द्र र बाबुराम भट्टराईको पार्टी नयाँ शक्तिका उम्मेदवारले प्राप्त गरेको मत जोड्ने हो भने विजेताको भन्दा बढी हुने देखिन्छ । त्यस्तै, गोरखाकै चुमनुव्री र अजिरकोट, धादिङको नेत्रावती, गजुरी, रसुवाकै नौकुण्डलगायत स्थानीय तह पनि माओवादीले गुमाएको छ ।

माओवादी केन्द्र र नयाँ शक्तिका उम्मेदवारले प्राप्त गरेको मतको योगफलभन्दा थोरै मतान्तरमा यी क्षेत्रमा अन्य दल कांग्रेस र एमालेले निर्वाचन जितेका छन् ।

प्रकाशित मिति: Jul 9, 2017

प्रतिक्रिया दिनुहोस्