भारतको दार्जिलिङमा अनिश्चितकालीन बन्द आह्वान
एजेन्सी । दार्जिलिङमा पुनः अनिश्चितकालीन बन्द आह्वान गरिएको छ । पश्चिम बङ्गाल सरकारले दार्जिलिङमा बङ्गला भाषा अनिवार्य गराउने निर्णय गरेयता दार्जिलिङ आन्दोलित भएको छ । गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समितिले बिहीबार बिहान साढे १० बजेदेखि अनिश्चितकालीन बन्द आह्वान गरेको हो। सो पार्टीका केन्द्रीय सहसचिव विनय तामाङले बन्दको घोषणा गरेका हुन् ।
बिहीबार नै प्रहरीले गोर्खा जनमुक्ति मोर्चाको पातलेबासमा अवस्थित केन्द्रीय कार्यालयमा छापा मारेको थियो। अचानक प्रहरीले मोर्चा कार्यालयमा छापा मारेपछि दार्जिलिङमा स्थिति बिग्रिएर गएको हो । दार्जिलिङ जिल्ला प्रहरी अधिक्षक अखिलेश चतुर्वेदीको निर्देशमा भएको छापामारीमा मोर्चा पार्टी कार्यालयबाट हातहतियार जफत गरेको प्रहरी सूत्रले जनाएको छ ।
बन्द आह्वानपछि दार्जिलिङ ठप्प बनेको छ । आन्दोलनकारीहरू सडकमा उत्रिएर विक्षोभ प्रदर्शन गरिरहेका छन् । चारैतिर पुलिस र सेनाका गस्तीले रुटमार्च गरिररहेको छ । पहाडभरि तनावको स्थिति छ । बिहान खरसाङबाट मोर्चा नेतृ करुणा गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।यसैबीच कालेबुङ महकुमा अन्तर्गतको पेदोङ थाना जलाइएको खबर छ ।
पेदोङ पुलिस थानाको ढोका भत्काइएको छ । भान्साघर पूर्णरूपले जलाइएको छ भने कार्यालयभित्रका कागजपत्रहरू पनि जलाइएको खबर छ । अर्कोतिर पेदोङ ओसीको वाहन तोडफोड गरिएको छ भने पुलिसले मोर्चा केन्द्रीय समिति सदस्य तथा पेदोङ मोर्चा नेता विनोद प्रधानलाई पक्राउ गरेको छ।