Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवाले चुनावअघि कुनै पनि माग पूरा हुन नसक्ने बताएपछि राजपासँगको वार्ता विफल

काठमाडौं, जेठ २७ :  प्रधानमन्त्रीसहितको सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा राजपा नेपालबीचको वार्ता विफल भएको छ । बैठकमा देउवाले चुनावको मिति नजिकिइसकेको भन्दै अहिले मोर्चाको कुनै पनि माग पूरा गर्न नसकिने बरु पार्टी दर्ता गराएर चुनावमा होमिन आग्रह गरेका थिए । यस्तै देउवाले चुनावपछि भने सबै माग पूरा गर्ने प्रतिबद्धता जनाएका थिए ।

राजपालाई चुनावमा सहभागि गराउने प्रयासस्वरुप प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको वार्तामा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावअघि राजपाको कुनै पनि माग पूरा हुन नसक्ने बताएपछि वार्ता निष्कर्षविहिन भएको हो ।

तर राजपाका नेताहरुले चुनाव अघि संविधान संशोधन नै गर्न सम्भव नभएपनि मन्त्रिपरिषद्को बैठकबाट सम्बोधन गर्न सकिने मागहरुबारे निर्णय लिन आग्रह गरेका थिए । तर देउवाले त्यो पनि सम्भव नहुने जवाफ दिएपछि सहमतिको वातावरण बिग्रिएको बताइएको छ ।

राजपाका नेताहरुले मुद्दा फिर्ता, स्थानीय तहको संख्या बढाउने, बन्दी रिहाई लिने, आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुलाई सहीद घोषणा गर्ने, आन्दोलनमा घाइते भएकालाई क्षतिपूर्ति दिन लागायतका माग मन्त्रिपरिषद् बैठकबाटै निर्णय गराएर पूरा गर्न माग गरेपनि देउवाले अस्विकार गरेका हुन् ।

बैठकपछि राजपा अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले पार्टी दर्ता गराउने आफूहरुको एजेण्डा नै नभएको भन्दै प्रधानमन्त्रीले आफूहरुको कुनै पनि माग चुनावअघि पूरा गर्न नसकिने जवाफ दिएको बताए । उनले सत्तापक्षको यस्तो जवाफले चुनाव हुन नसकिने भन्दै आफूहरु आन्दोलनको तयारीमा लाग्ने बताए ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले राजपाका नेताहरुले चुनाव सारेरै भएपनि पहिला आफूहरुको माग पूरा गर्नेतिर सत्तापक्षले ध्यान दिनुपर्ने धारणा राखेकाे बताए ।

छलफलमा कुनै सहमति नजुटेपछि दलहरुबीच फेरि आन्तरिक छलफल गरेर सहमतिमा पुग्न प्रयास हुने बताइएको छ । राजपाको तर्फबाट अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, शरदसिंह भण्डारी, अनिल झा, महेन्द्र राय यादव सहभागी थिए । त्यसैगरी  नेपाली कांग्रेसबाट प्रधानमन्त्री देउवा सहित वरिष्ठ नेता रामचन्द्र पौडेल,महामन्त्री शशांक कोइराला, नेताहरु विमलेन्द्र निधी, कृष्ण प्रसाद सिटौला, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, राम बहादुर थापा सहभागी थिए ।

 

प्रकाशित मिति: Jun 10, 2017

प्रतिक्रिया दिनुहोस्