Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चालीसौं तर चोथौपटक प्रधानमन्त्री बन्दै देउवा, बुधवार सपथ

काठमाडौं :  नेकपा एमाले अवरोध हटाउन सहमत भएसँगै व्यवस्थापिका संसद्को मंगलबारको बैठकले ४०औं प्रधानमन्त्री निर्वाचित गर्ने भएको छ। सभामुख ओनसरी घर्तीको कार्यकक्षमा सोमबार अपराह्न बसेको प्रमुख दलको बैठकले संसद् अवरोध हटाउने समझदारी गरेको हो । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार ४०औं प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका छन् संसद्को मंगलबारको दोस्रो बैठकबाट प्रधानमन्त्री निर्वाचित हुने निश्चित भएसँगै देउवाले बुधबार राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका हुन्।

सत्तासाझेदार दलबाट कम्तीमा एक नेतालाई सरकारमा सहभागी गराउँदै उनको आन्तरिक तयारी छ। सत्तासाझेदार माओवादी, फोरम लोकतान्त्रिक, राप्रपासहितका दललाई पहिलो चरणमा मन्त्री हुने नेताको नाम दिन आग्रह गरेको स्रोतको दाबी छ। स्थानीय तहको निर्वाचनपछि मात्र मन्त्रिमण्डलाई पूर्णता दिने तयारीमा रहेका देउवाले त्यसअघि बढीमा ११ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने निकट एक नेताले जानकारी दिए। ‘जति सानो भने पनि साझेदार दललाई समेटेर अघि बढ्दा १०/११ जनाको भइहाल्छ,’ उनले भने, ‘बुधबार केही उपप्रधानमन्त्रीसहित साझेदार दललाई समेत समेटेर मन्त्रिपरिषद् बन्छ।’ माओवादी गृह मन्त्रालयको जिम्मेवारीसहित बुधबार नै सरकारमा सहभागी हुनेछ।

संसद्को आइतबारको बैठकबाटै देउवा चौथोपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुग्ने तयारीमा रहे पनि भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय अस्वीकार गर्दै एमालेले संसद् बैठक अवरोध गर्ने जनाएपछि प्रधानमन्त्रीको निर्वाचन सूचना टाँसेर दुई दिनका लागि स्थगित गरिएको थियो।

मंगलबार बस्ने संसद्को दोस्रो बैठकबाट देउवा झन्डै दुईतिहाइ सांसद्को समर्थनसहित प्रधानमन्त्रीमा निर्वाचित हुनेछन्। मंगलबार बस्ने संसद्को दोस्रो बैठकबाट देउवा झन्डै दुईतिहाइ सांसद्को समर्थनसहित प्रधानमन्त्रीमा निर्वाचित हुनेछन्। एमाले वरिष्ठ नेता झलनाथ खनालले स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणनाका क्रममा भरतपुरमा विकसित घटनाक्रम र परिस्थितिलाई ध्यानमा राखेर अब हुने चुनावमा अनियमितता नदोहोर्‍याउने दलीय प्रतिबद्धता खोजेको बताए। ‘अब पनि चुनावमा अनियमितता हुँदैन भन्ने प्रतिबद्धता हामीले खोजेका हौं,’ खनालले शीर्ष नेताको बैठकपछि पत्रकारसँग भने, ‘कांग्रेस र माओवादीबाट त्यसमा प्रतिबद्धता आएकाले संसद् बैठक खोल्न सहमत भयौं।’

 

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिपक्षीको मागअनुसार तीनै तहको निर्वाचन समयमै सम्पन्न गर्ने र अनियमितता र धाँधली हुन नदिने सत्तासाझेदारको प्रतिबद्धतापछि संसद् बैठक खोल्ने समझदारी बनेको जानकारी दिए। श्रेष्ठले बैठकपछि भने, ‘मंगलबार सदन चल्छ।’ भरतपुरमा–१९ मा पुनःनिर्वाचन गराउने आयोगको निर्णयमा अदालतको मुख ताकेको एमालेले दुई दिन संसद् बैठक सार्न प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा प्रस्ताव गरेको थियो। त्यसलाई स्वीकार गर्दै सभामुखले संसद् बैठक सूचना टाँसेर मंगलबार १ बजेसम्मका लागि स्थगित गरेपछि आइतबारै प्रधानमन्त्री निर्वाचित हुनबाट देउवा रोकिएका थिए।

प्रधानमन्त्री निर्वाचनका एक्ला उम्मेदवार देउवा मंगलबार बस्ने संसद्को दोस्रो बैठकमा आफ्नै पार्टी कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, फोरम लोकतान्त्रिकसहितका ३ सय ९० भन्दा बढी सांसदको समर्थनमा प्रधानमन्त्री निर्वाचित हुनेछन्। कांग्रेस नेता विमलेन्द्र निधिले देउवाको पक्षमा दुईतिहाइ पुर्‍याउने प्रयास भइरहेको दाबी गरे। ‘संसद्को भोलि (मंगलबार) को बैठकबाट मुलुकले नयाँ प्रधानमन्त्री पाउनेछ,’ उनले भने, ‘दुईतिहाइ समर्थन जुटाउने प्रयास जारी छ।’ प्रधानमन्त्री निर्वाचित हुन २ सय ९७ सांसदको समर्थन आवश्यक पर्छ।

१ सय ८१ सांसद् रहेको एमाले, ४ सांसद् रहेको नेपाल मजदुर किसान पार्टी र ३ सांसद् रहेको राष्ट्रिय जनमोर्चाले विपक्षमा मतदान गर्ने भएका छन्। एमाले वरिष्ठ नेता खनालले प्रधानमन्त्री निर्वाचनमा पार्टीले विपक्षमा मतदान गर्ने स्पष्ट पारे। ‘सरकारको राम्रो कामको समर्थन र गलत कामको कठोर ढंगबाट प्रतिवाद गर्नेछौं,’ खनालले भने।

प्रमुख तीन दलबीच सोमबार भएको चारबुँदे समझदारीअनुसार प्रधानमन्त्री निर्वाचन हुनुअघि बस्ने संसद्को पहिलो बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताले संसद्लाई सम्बोधन गर्नेछन्। दलीय समझदारीअनुसार पहिलो बैठक सुरु भएलगत्तै सभामुख घर्तीले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाउन राष्ट्रपति विद्यादेवी भण्डारीको पत्र पढेर सुनाउनेछिन्। दलीय सहमति जुट्न नसकेपछि बिहीबार संसद्लाई पत्र लेख्दै राष्ट्रपतिले बहुमतीय प्रक्रिया थाल्न भने पनि एमाले अवरोधका कारण त्यसको जानकारी संसद्ले पाएको छैन।

बहुमतीय प्रधानमन्त्री चयन प्रक्रिया बारे आफुहरुलाई जानकारी नभएको एमाले अडानपछि पहिलो बैठकमा राष्ट्रपतिको पत्रबारे जानकारी गराउने समझदारी भएको हो। त्यसलगत्तै कांग्रेस र माओवादी शीर्ष नेताले स्थानीय तहको बाँकी तथा प्रदेश र केन्द्रको निर्वाचन स्वच्छ, मर्यादित र निष्पक्ष ढंगबाट गर्ने प्रतिबद्धता संसद्मा जनाउने समझदारी छ। प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीले निर्वाचनका साथै पछिल्लो परिस्थितिका विषयमा आफ्नो धारणा राख्नेछन्।

एमाले वरिष्ठ नेता खनालले तीनै तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्न तीनै दल एकताबद्ध रुपमा अघि बढ्ने सहमति भएको बताए। ‘तोकिएकै मिति असार १४ गते नै स्थानीय तहको निर्वाचन सम्पन्न गराउन सत्तारुढ दलका शीर्ष नेताले संसद्मा प्रतिबद्धता जनाउनेछन्,’ तीनदलीय बैठकपछि खनालले भने, ‘प्रतिपक्षीले पनि आफ्नो धारण संसद्मा राख्नेछन्।’

नेताहरुको सम्बोधनपछि सभामुखले प्रधानमन्त्रीको निर्वाचन अर्को बैठकमा हुने जानकारी गराउँदै बैठक स्थगित गर्नेछिन्। त्यसपछिको बैठकले प्रधानमन्त्री चयन गर्ने कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

त्यस्तै, स्थानीय तहको बाँकी निर्वाचन असार १४ गते नै सम्पन्न गर्न अनुकूल वातावरण बनाउने समझदारी गरेका तीन दलले आगामी माघ ७ गतेभन्दा अगाडि नै प्रदेश सभा र संघीय संसद्को निर्वाचन सम्पन्न गर्ने समझदारी गरेका छन्। ‘प्रदेश र संघीय निर्वाचन निर्धारित समयअघि नै सम्पन्न गर्न सरकारले प्रतिबद्धता जनाउनेछ,’ तीन दलबीच भएको समझदारीमा भनिएको छ, ‘सबै तहको निर्वाचन स्वच्छ र निष्पक्ष ढंगले सम्पन्न गर्न र विगतका कमीकमजोरी सच्याउँदै अघि बढ्ने।’ एमालेको मागअनुसार निर्वाचनबारे छानबिन गर्न गठन भएको संसदीय समितिलाई सक्रिय बनाउने पनि समझदारी गरेका छन्। नागरिकमा समाचर छ ।

 

प्रकाशित मिति: Jun 6, 2017

प्रतिक्रिया दिनुहोस्