Logo
१५ बैशाख २०८१, शनिबार
(June 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ प्रमका लागि उम्मेदवारी आज, मतदान आइतबार

काठमाडौं, जेठ २० :  संसद्को अवरोध हटाएर मात्र प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया सुरु गर्न प्रमुख विपक्षी एमालेसहित विपक्षी गठबन्धनको मागलाई बेवास्ता गर्दै सभामुख ओनसरी घर्तीमगरले सूचनाद्वारा प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नुभएको छ ।भरतपुर महानगरपालिकाको अवरुद्ध मतगणना सञ्चालनको माग गर्दै विपक्षी एमालेको अवरोध र निर्वाचन कार्यक्रम कसरी अघि बढाउने भन्ने अन्योलबीच सभामुख घर्तीमगरले सूचनाद्वारा शुक्रबार निर्वाचन कार्यक्रम सार्वजनिक गर्नुभएको हो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

कार्यतालिकाअनुसार शनिबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म प्रधानमन्त्री पदमा उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । सभामुखको निर्देशनमा संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी कार्यतालिकामा शनिबार साढे ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र आइतबार बिहान ११ बजे संसद् बैठकमा मतदानको कार्यक्रम तय गरिएको छ । कांग्रेससँगको आलोपालो सहमतिअनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्रीका लागि निर्वाचन हुन लागेको हो ।

कांग्रेस–माओवादी गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरिसके पनि विपक्षी मोर्चाले उम्मेदवारी दिने÷नदिने निर्णय गरेका छैनन् ।संविधानको धारा २९८ को उपधारा (२) बमोजिम तोकिएको सात दिनको समयभित्र सहमतीय सरकार गठन नभएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सोही धाराको उपधारा (३) बमोजिम बहुमतीय सरकार गठनका लागि बिहीबार संसद्लाई पत्र पठाउनुभएको थियो । राष्ट्रपतिबाट पत्र प्राप्त भए पनि संसद् अवरोध नफुकाई निर्वाचन प्रक्रिया अघि नबढाउन विपक्षी एमालेसहितका दलले सभामुखसँग आग्रह गरेका थिए ।

सभामुख घर्तीले शुक्रबार बिहान बोलाउनुभएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेसहित विपक्षी अन्य दल र तीन दलका प्रमुख सचेतकको बैठकमा एमालेले संसद् अवरोध फुकाएर मात्र निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने अडान राखेको थियो । तर, सत्तासीन कांग्रेस र माओवादी केन्द्रका नेताले भने सूचनाद्वारा निर्वाचन प्रक्रिया अघि बढाउन सक्ने विशेषाधिकार सभामुखलाई रहेको भन्दै सोहीअनुसार अघि बढ्न सुझाव दिएका थिए।

 

यस्तो छ निर्वाचन प्रक्रिया
संसद्को कुनै पनि सदस्यले आफूलाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनी सूचना दर्ता गर्न पाउने व्यवस्था छ । एक मात्र सूचना परे पनि निर्विरोध निर्वाचन हुँदैन । एक मात्र उम्मेदवारीको सूचना परे पनि संसद्मा आफ्नो पक्षमा बहुमत सदस्य रहेको कुरा निर्वाचन प्रक्रियाद्वारा प्रमाणित गर्नुपर्छ । संसद्मा दुई वा दुईभन्दा बढीको उम्मेदवारीको सूचना परे उम्मेदवारीको सूचनामाथि संसद्मा सामूहिक छलफल गरी एकैसाथ निर्णयमा लगिन्छ ।

सभामुखले जो जसको पक्षमा मत दिन चाहन्छ, त्यसअनुसार राखिएको पुस्तिकामा हस्ताक्षर गर्न सांसदहरूलाई समय दिनुपर्छ । मत विभाजनद्वारा जसको पक्षमा बहुमत सदस्यको हस्ताक्षर जुट्छ, ऊ नै प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गरिन्छ ।

प्रकाशित मिति: Jun 3, 2017

प्रतिक्रिया दिनुहोस्