Logo
७ बैशाख २०८१, शुक्रबार
(June 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संशोधन बिना राजपा चुनावमा सहभागी नहुने, उपेन्द्रलाई आन्दोलनमा फर्किन सुझाव

काठमाण्डौ, जेष्ठ १७ : राष्ट्रीय जनता पार्टीका नेता राजेन्द्र महतोले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी उपेन्द्र यादवलाई राजपासँगै आन्दोलनमा आउन एकपटक फेरि आग्रह गरेका छन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई एउटै छातामुनि आएर आन्दोलनमा सहभागी भई करोडौं मधेशी जनजाति जनताको भावनालाई सम्मान गरि दिन आग्रह गरेका छन ।

संचारकर्मीहरु सँग कुरा गर्दै राजेन्द्र महतोले राजपा चुनावमा सहभागी नभए सम्म दोस्रो चरणको निर्वाचन कुनै हालतमा नहुने र संशोधन बिना राजपा कुनै हालतमा निर्वाचनमा सहभागी नहुने पनि स्पष्ट पार्नु भयो । ‘हाम्रा केही सहयात्री दलका नेताहरुलाई राजपा बिना पनि दोस्रो चरणको निर्वाचन भई हाल्ने अंदेशा रहेको थियो’ महतोले भने ‘तर सरकारले दुई-दुई पटक चुनावको मिति सारे पछि अब उहाँहरुको त्यो शंका पनि दूर भएको होला’।

एउटा शक्ति संविधान संशोधनका लागि आन्दोलनमा र एउटा शक्ति चुनावमा रहेकोले तीन दलले हाम्रै बीचको मतभेदको फायदा उठाई रहेको र संशोधन बिनानै चुनावमा जाने हिम्मत गरेको महतोले बताए। अहिले पनि कुनै ढिलो नभएको बताउँदै उनले भने “एउटै छाता मुनि आएर संविधान संशोधन र मधेशी जनजातिको अधिकारको लागि जारी निर्णायक आन्दोलनमा सहभागी भई दिन म उपेन्द्रजी लाई आग्रह गर्छु”। महतोले भने मधेशको सबै शक्ति एक भए हामीले अधिकार पनि पाउने र मतदानमा पनि नसोचेको सफलता पाउने दाबी गरेका छन।

राजपा नेता महतोले नयाँ पार्टी गठन भएकै बेला सबै मधेशी शक्तिहरुलाई एक हुन आह्वान गरिएको बताउँदै उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरमलाई विशेष आह्वान गरिएको जानकारी गराए। उपेन्द्र यादवलाई लिएरै सबै भन्दा पहिले आफुलेनै संयुक्त मधेशी मोर्चा गठन गरेको स्मरण गर्दै महतोले एक दशक देखि सँगै सड़क, सदन र सरकारमा रहेर काम गरेको बताउँदै फेरि पनि सँगै आन्दोलन र चुनावमा जान अपील गरे।

चुनाव भन्दा पहिलेनै संशोधनको लागि राष्ट्रपतिलाई राजपाको दबाब

राष्ट्रीय जनता पार्टीले नेकपा एमालेद्वारा दोस्रो चरणको मतदान पछि संविधान संशोधनमा सघाउने प्रस्ताव अस्वीकार गरेको छ। आज राष्ट्रपतिले बोलाएको सर्वदलिय बैठकमा राजपाले दोस्रो चरणको मतदान भन्दा पहिलेनै संविधान संशोधन पारित हुनु पर्ने आफ्नो पुरानो अड़ान दोहराएका छन। राष्ट्रपति भवन शीतल निवासमा भएको बैठकमा राजपा नेताहरूले पाहिले संशोधन र त्यस पछि मतदानको लागि एमाले सहित अन्य दललाई दबाब दिएर चुनावमा सबै पक्षको सहभागिता सुनिश्चित गराउन आग्रह गरेका छन।

राष्ट्रपति संग भएको बाठक बारे बोल्दै राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले आफूहरु संविधान संशोधन बिना कुनै हालतमा चुनावमा सहभागी हुन नसक्ने र तराई मधेश लगायत जनजाति बहुल क्षेत्रमा दोस्रो चरणको मतदानमा हुन नदिने कुरा राष्ट्रपतिलाई जानकारी गराएको बताए। महतोले भने- “संविधान संशोधन पारित गरि जनसंख्याको आधारमा स्थानीय तहको संख्या बढाए मात्र चुनावको माहौल बन्न सक्ने र निर्वाचनमा सबै पक्षको सहभागिता सुनिश्चित हुनेछ”।

प्रकाशित मिति: May 31, 2017

प्रतिक्रिया दिनुहोस्