Logo
१३ बैशाख २०८१, बिहीबार
(May 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेले भन्यो– ‘भरतपुरमा पुनः मतदान होइन मतगणना हुनुपर्छ’

काठमाडौं , जेठ १६: प्रमुख प्रतिपक्षी दल  नेकपा एमालेले निर्वाचन आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुसँग भेट गरी भरतपुरको मतगणना पुनः सुरु गर्न आग्रह गरेको छ ।

एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल उपाध्यक्ष बामदेव गौतम, नेता सुवास नेम्वाङसहितको टोलीले आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादव तथा आयुक्तहरुसँग भेटी भरतपुरमा मतपत्र च्यातिएको घटना गम्भीर प्रकृतिको भएकाले गम्भीर किसिमकै छानबिन गर्न आग्रह गरेको थियो ।

आयोगका प्रमुख आयुक्त वा आयुक्त नै भरतपुर गई घटनाको छानबिन गर्नुपर्नेमा एमालेको जोड छ । आयोगले भने यसका लागि छानबिन समिति बनाइसकेको छ । एमालेले च्यातिएको मतपत्र खामबन्दी गरी अन्य मत पुनः गणना सुरु गर्न पनि आयोगसँग आग्रह गरेको छ ।सरकार पक्षले मतपत्र च्यातेको, सत्ता गठबन्धनकै उमेदवार रहेको र एमालेले जित्ने भएपछि योजनाबद्ध रुपले मतपत्र च्यातिएको आरोप एमालेले लगाएको छ । आयोगले पुनः मतदान गराउन खोजे एमालेलाई अमान्य हुने पनि एमालेले आयोगलाई स्पष्ट पारेको एमाले नेता नेम्वाङले बताए ।

भेटपछि संसदीय दलका उपनेता नेम्वाङले  भने, “प्रमुख निर्वाचन आयुक्तसहित आयुक्त आफैं पुगेको भए राम्रो हुन्थ्यो । यो कब्जा होइन, प्रायोजित काम हो । मतगणनास्थल कब्जा भयो भनेर प्रतिवेदन ल्याउने र त्यसकै आधारमा मतदान गराउने प्रयास हो । त्यो गरियो भने नेपालमा दण्डनीय अवस्था आउन सक्छ । अहिले त्यहाँ च्यातिएका १, २ वटा मात्रै मतपत्र हुन् । त्यसलाई व्यवस्थापन गरेर तत्कालै मतगणना सुचारु गर्नुपर्छ ।”

प्रकाशित मिति: May 30, 2017

प्रतिक्रिया दिनुहोस्