Logo
१२ श्रावण २०८१, शनिबार
(May 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परिणामको हतारः यसरी हुदैछ, कछुवा गतिमा मतगणना

काठमाडौं, जेठ १ : स्थानीय चुनावमा उत्साहपूर्वक सहभागी भएर भोट हालेका सर्वसाधारण मतदाता अब मत परिणाम कतिखेर आउला भनेर व्यग्र प्रतीक्षामा छन् । तर, मतगणनाको ताल हेर्दा चाँडै परिणाम आउला जस्तो छैन । महानगर, उपमहानगर हाँक्ने मेयरदेखि आफ्नो क्षेत्रको नगरपालिका, गाउँपालिका र वडा तहमा कुन पार्टी र व्यक्ति अगाडि आयो भनेर चासो राख्नेहरु धेरै छन् । राजधानी शहर काठमाडौंसहित चार महानगरको मतपरिणामबारे अझ धेरैको चासो छ ।

धेरै ठाउँमा अझैसम्म गणना सुरु भएको छैन भने सुरु भएका ठाउँहरुमा पनि कछुवा गतिमा गणना भइरहेको छ । काठमाडौं उपत्यकाभित्रको कुरा गर्दा ललितपुर महानगरमा मात्र मतगणना भइरहेको छ । गए राति १ बजेदेखि गणना सुरु भएको ललितपुरमा अहिलेसम्म करिब आठ सय मत मात्र गणना भएको छ । ललितपुरमा दुई लाख १३ हजार ७३ मतदाता रहेकोमा त्यहाँ ८० प्रतिशत मत खसेको छ ।

काठमाडौं, पोखरा र भरतपुर महानगरको मतगणना भने आज सुरु हुने निर्वाचन आयोगले जनाएको छ । यद्यपि सर्वदलीय बैठक बस्न ढीलो भएका कारण तीन महानगरको मतगणनामा ढिलाइ भएको छ । निर्वाचन आयोगले सबैतिरको मतगणना गरी अन्तिम परिणाम आउन चार दिन लाग्ने जनाएको छ । तर, मतगणनाको सुस्त तयारी र अहिलेको गति हेर्दा यो समय अझै लम्बिने संकेत देखिएको छ ।

हाल काठमाडौंको कीर्तिपुर नगरपालिका, काभ्रेको बनेपा नगरपालिका, मकवानपुरको थाहा नगरपालिका, नुवाकोटको विदुर नगरपालिका, तादी तथा तारकेश्वर गाउँपालिका, नवलपरासीको गैंडाकोट नगरपालिका, बाग्लुङको ढोरपाटन नगरपालिका, रुकुमको सानी भेरी नगरपालिका, सुर्खेतको भेरीगंगा नगरपालिका, धादिङको थाक्रे गाउँपालिका लगायतमा मतगणना भइरहेको छ ।

महानगरको मतगणनामा ढिलाइ भए पनि कतिपय गाउँपालिकाको परिणाम आउन थालेको छ । मनाङको चामे गाविसमा एमालेले गाउँपालिका अध्यक्ष जितेको छ । निर्वाचन आयोगका अनुसार, निर्वाचनमा समग्रमा ७३ प्रतिशत मत खसेको थियो ।

प्रकाशित मिति: May 15, 2017

प्रतिक्रिया दिनुहोस्