Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपमेयरमा उठेपछि भलिबल सुन्दरी पनि दौडधुपमा 

पोखरा, ‘भलिबल सुन्दरी’ को उपमा पाएकी सिपोरा गुरुङलाई पनि यति बेला राजनीति लागेको छ । ‘घलेक : दी साइन अफ लभ’, ‘याम्फावती’ र ‘भुइँमान्छे’ जस्ता फिल्मकी नायिका समेत रहेकी सिपोरा चुनावी सभातिर बढी देखिन्छिन् । आफ्ना आफन्त सरस्वती गुरुङ नेपाली कांग्रेसबाट पोखराको उपमेयरमा उठेपछि उनलाई पनि राजनीतिक कार्यक्रमले तानेको हो ।

राजनीतिक आस्थाको आधारमा भने प्रचारमा नहिँडेको उनले बताइन् । ‘पार्टीभन्दा पनि राम्रो मान्छेलाई जिताउनुपर्छ भनेर लागेकी हुँ,’ उनले भनिन् । पार्टीविशेषभन्दा पनि आफू ‘युवा पुस्ता पनि राजनीतिमा सहभागी हुनुपर्छ’ भनेर हिँडेको उनले सुनाइन् । ‘फेसबुकमा स्टाटस लेखेर नेतालाई गाली गर्दैमा चेन्ज आउनेवाला छैन,’ उनी भन्छिन्, ‘चेन्ज ल्याउन युवा फिल्डमै उत्रिनुपर्छ ।’

राजनीतिमा पनि ‘इन्ट्ेरस्ट’ रहेको बताउने सिपोरालाई भविष्यमा नेता बन्ने मन छ । ‘पछि के हुन्छ थाहा छैन, तर इन्ट्रेस्ट छ,’ चुनाव प्रचारमा हिँड्नुको गुह्य उनले खोलिन् । राजनीतिमा रुचि राख्ने यी सुन्दरी आफैं किन उम्मेदवार हुन चाहिनन् होला ? ‘अहिले बेस बनाउँदै छु,’ अहिले नै नहोमिनुको कारण खोलिन् उनले, ‘बहकाउमा लागेर भएन । आफैंले आफैंलाई चिन्नुपर्छ । मेरो विचारमा मैले राजनीति गर्ने बेला भइसकेको छैन ।’

पोखरालाई आवश्यक विकास, पूर्वाधारका बारेमा पनि उनी ज्ञान राख्छिन् । उनको विचारमा पोखराको नेतृत्व गर्नेले पर्यटनलाई मुख्य ध्यान दिनुपर्छ । ‘पर्यटनलाई ध्यान दिए अर्थतन्त्र आफैं उकासिन्छ,’ उनले भनिन्, ‘पोखरामा बाह्रै महिना पर्यटक आउने वातावरण बनाउनुपर्छ ।’ त्यसका लागि विज्ञापनमार्फत अन्तर्राष्ट्रिय बजारमा पोखराको प्रचारप्रसार गर्नुपर्ने धारणा उनको छ ।

१३ वर्षको उमेरमै अन्तर्राष्ट्रिय भलिबल खेलेर नेपाललाई पदक दिलाउन सफल यी खेलाडीले खेल क्षेत्रका बारेमा बोल्न कहाँ छुटाउँथिन् र ? अबका मेयर र उपमेयरले खेललाई दोस्रो प्राथमिकतामा राख्नुपर्ने उनले सुझाइन् । भनिन्, ‘पोखरा रंगशालाको उचित व्यवस्थापन र खेलकुद प्रतिष्ठान बनाएर खेलाडी उत्पादन गर्ने कार्य गरिनुपर्छ ।’

प्रकाशित मिति: May 8, 2017

प्रतिक्रिया दिनुहोस्