Logo
१२ बैशाख २०८१, बुधबार
(May 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति र प्रधानन्यायाधीसवीचको कुराकानीलाई भनियो ‘गोप्य”

काठमाडौं, वैशाख २४ : महाअभियोग लागेपछि निलम्बित प्रधानन्यायाधीस सुशीला कार्कीले पुनः कार्यभार सम्हालेकै दिन आइतबार बेलुका राष्ट्रपति भवन शितल निवास  पुगेपनि त्यहाँ भएको कुरा कानीलाई गोप्य भनिएको छ । भेटको क्रममा के के कुराकानी भयो त्यो भने खुलाइएको छैन ।

कार्की राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरी वैशाख २६ गते कानून दिवसको कार्यक्रमका लागि निमन्त्रणा दिएर फर्किएको राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए । प्रधानन्यायाधीस कार्की राष्ट्रपतिलाई कानून दिवसको कार्यक्रमको निम्तो दिन मात्रै आएको शर्माले बताए । ‘अरु कुनै गोप्य केहि कुराकानी भए होला त्यो थाह भएन तर हामिलाइ आधिकारिक रुपमा यति थाह छ, उहाँ निमन्त्रणा लिएर आउनु भएको थियो ।’

प्रधानन्यायाधीस कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र त्यसमाथि अदालतले दिएको आदेशपछि विकसित घटनाक्रममाथि राष्ट्रपतिसँग छलफल हुने बताइएको थियो । सर्वोच्चले महाअभियोग प्रस्ताव अगाडि नबढाउन आदेशदिएपछि आइतबारबाट आफ्नो काममा फर्केकी कार्की विदामा बस्ने चर्चा चलिरहँदा बेलुका एक्कासी शितल निवास पुगेकी थिइन् ।

प्रधानन्यायाधीस कार्की ६५ वर्षे उमेरहदका कारण जेठ २५ गतेबाट सेवा निवृत्त हुँदैछिन् । सामान्यतः सेवा निवृत्त हुनुभन्दा एक महिना अगाडिबाट प्रधानन्यायाधीस विदामा बस्ने चलन छ । साही परम्परालाई आत्मसाथ गरेमा प्रधानन्यायाशीस कार्की सोमवार बैशाख २५ गतेबाट नै विदामा बस्नेछिन् ।

सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका २ सय ४९ सांसदले गत आइतबार प्रधानन्यायाधीश कार्कीमा संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । तर अधिवक्ताद्वय कञ्चनकृष्ण न्यौपाने र सुनीलरञ्जन सिंहले महाभियोग प्रस्ताव खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

शुक्रवार न्यायाधीस चोलेन्द्रशमसेर जवराको इजलासले संसदमा दर्ता गरिएको प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव अगाडि नबढाउन र कार्कीलाई काममा फर्किन अन्तरिम आदेश दिएको थियो । अदालतको आदेशपछि ब्यवस्थापिका संसद र सर्वोच्चबीचको टकराव बढेको छ । आइतबार मात्रै सभामुख ओनसरी घर्ती अदालतले संसदको अधिकारमाथि हस्तक्षेप गरेको प्रतिक्रिया दिएकी छन् ।

प्रकाशित मिति: May 7, 2017

प्रतिक्रिया दिनुहोस्