Logo
११ बैशाख २०८१, मंगलबार
(May 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दलिय विवादपछि राप्रपाद्वारा सरकार छाड्ने निर्णय तर सर्मथन जारी रहने

काठमाडौँ, वैशाख १८ :  सत्तारुढ दल राप्रपाले सरकार छाड्ने निर्णय गरेको छ । पार्टी प्रवक्ता सुशील श्रेष्ठका अनुसार पार्टीले सरकार छाडेको पत्र प्रधानमन्त्रीसमक्ष बुझाउने छ । भोलि दिउँसो प्रधानमन्त्रीलाई पत्र बुझाउने पार्टीको तयारी रहेको छ । पार्टीको कार्यसम्पादन समिति, मन्त्री तथा उपलब्ध केन्द्रीय सदस्यहरुको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

प्रधानन्यायाधिश सुशीला कार्कीमाथि महाअभियोग लगाउने दुभाग्र्यपूर्ण निर्णय सत्तारुढ ठूला दलले गरेपछि सरकारबाट बाहिरिने निर्णय लिनु परेको पार्टी अध्यक्ष कमल थापाले जानकारी दिए । त्यस्तै बैठकले पार्टी निलम्बित प्रधानन्यायाधीस सुशिला कार्की विरुद्ध लगाइएको महाभियोगको विपक्षमा उभिने पनि निर्णय गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनलाई नै नकरात्मक असर पर्ने गरी प्रधानन्यायधिश कार्कीमाथि लगाइएको महाअभियोग तत्काल फिर्ता लिन पनि सत्तारुढ काँग्रेस र नेकपा माओवादी केन्द्रसँग माग गरेको छ । न्यायालयको सर्वोच्च र स्वतन्त्रतामाथि नै हनन् हुने गरी ल्याइएको महाअभियोग प्रस्तावलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्तिजनक रहेको पनि जनाएको छ ।

आज दिउँसो बसेको कार्यसम्पादन समितिको बैठकमा कमल थापा पक्षधर नेताहरु सरकार छाड्नुपर्ने कुरा राखेका थिए भने पशुपति शमशेर राणापक्षधर नेताहरुले भने सरकार छाड्न नहुने मत राखेका थिए । राणा पक्षधर नेताहरुले अहिले सरकार छाडे चुनाव संकटमा पर्ने बताउँदै स्थितिलाई मिलाएर अघि बढ्न सुझाव दिएका थिए ।

थापा पक्षधर नेताहरुले भने अहिले सरकार छाडे जनतामा राम्रो छवि बन्ने र एजेन्डा स्थापित गर्न सहज हुने सुझाव दिएका थिए ।

संशोधनको पक्षमा मतदान गर्ने

सरकारबाट बाहिरिए पनि राप्रपाले संशोधन पक्षमा नै मतदान गर्ने दिलनाथ गिरीले जानकारी दिए । संशोधन पछि चुनावको सुनिश्चिता भए पार्टीले संशोधनको पक्षमा नै मतदान गर्ने उनले बताए ।

पार्टी लाइन विपरित उभिने सांसदलाई कारवाही

बैठकमा पार्टी लाइन विपरित उभिने सांसदहरुको बारेमा पनि छलफल भएको उनले बताए । बैठकले उनीहरुमाथि कारवाहीको प्रक्रिया अघि बढाउने पनि निर्णय गरेको छ ।

गिरीका अनुसार १५ सांसदहरुलाई अनुशासनको कारवाही गरिने छ । जसमा उनीहरुलाई स्पष्टिकरण सोधिने र चित्त नबुझे निलम्बन सम्म गरिनेछ ।

अव सरकारको भविष्य के हुन्छ ?

सरकारमा रहेको राप्रपाले सरकार छाडेपछि सरकारको भविष्य के हुन्छ ? निर्वाचन गराउनका लागि भन्दै सरकारमा सहभागी भएको राप्रपा पहिलो चरणको निर्वाचनको मनोनयनको एक दिन अगाडि सरकारबाट बाहिरने निर्णय गरेको हो ।

कतिपयले राप्रपा सरकारबाट बाहिरिए सरकार नै ढल्छ भन्ने आशंका समेत गरेका छन् । तर, अंकगणित अझ त्यहाँ पुगिसकेको छैन ।

राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारसँग बहुमत कायमै रहन्छ । ३७ सांसद रहेको राप्रपा बाहिरिए पनि सरकारसँग बहुमत अर्थात २९८ भन्दा बढि सांसदहरुको समर्थन हुनेछ ।

त्यसमा नेपाली कांग्रेस २०७, माओवादी केन्द्र ८८ र विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका १४ सांसद गर्दा ३०२ सांसद सरकारकै पक्षमा हुनेछन् । यसबाहेक साना दलको केही सांसद पनि सरकारको पक्षमा छन् ।

प्रकाशित मिति: May 1, 2017

प्रतिक्रिया दिनुहोस्