Logo
१३ बैशाख २०८१, बिहीबार
(April 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले तयारः स्थानीय तह बढाउन एमालेले माग्यो कार्यविधि

काठमाडौं, बैशाख १४ : नेकपा एमालेले स्थानीय तह संख्या बढाउन स्पष्ट कार्यविधिको माग गरेको छ । स्थानीय तहको संख्य बढाउनेबारेमा अध्ययन गर्न बनेको कार्यदलको बैठकमा एमालेले स्पष्ट कार्यविधिको माग गरेको हो ।

बुधबार सत्तारुढ दल तथा एमालेबीच भएको छलफलमा स्थानीय तहको संख्या बढाउन स्पष्ट कार्यविधि बनाएर अघि बढ्ने समझदारी भएको थियो तर आजको बैठकमा कार्यदलका संयोजक तथा संघीय मामिला तथा स्थानिय विकासमन्त्री कमल थापाले कुनै स्पष्ट मापदण्ड बिनै नयाँ प्रस्ताव अघि सारेका थिए ।

बैठकमा थापाले बालानन्द पौडेल नेतृत्वको स्थानीय तह पुनर्संरचना समितिले प्रदेश नम्बर २ मा आफ्नो काम प्रभावकारी रुपमा गर्न नसकेको भन्दै प्रतिवेदन बुझाउने क्रममा बाँकी काम सरकारलाई नै टुंग्याउन भनेको बैठकमा स्मरण गराएका थिए । उनले मधेसमा स्थानीय तहको संख्या थप्दा सोहि आयोगको सिफारिसलाई आधार मानेको भन्दै संख्या थपिने बताएका थिए ।

तर, एमालेले भने थापाको प्रस्तावमा स्पष्ट स्पष्ट कार्यविधि आउनु पर्ने र त्यसपछि कहाँ कुन आधारमा स्थानीय तहको संख्या बढाउन सकिन्छ कार्यविधिबाटै प्रष्ट हुने बताएको थियो । राजपा नेपालका नेता केशब झाले अब सरकारले स्पष्ट खाका तयार गरेपछि स्थानीय तह थप्नेबारेको निर्णय हुने देखिएको भन्दै कुनै पनि हालतमा प्रदेश नम्बर २ र ५ मा स्थानीय तहको संख्यामा थपिनुपर्ने आफूहरुको माग रहेको बताए ।

यसअघि बिहान मधेशी दलहरुले प्रधानमन्त्री निवास बालुवाटामा भएको प्रधानमन्त्रीसँगको बैठकमा स्थानीय तह संख्या बढाउनेबारेको परिपत्र फिर्ता लिएको भन्दै आपत्ति जनाएका थिए ।

तर प्रधानमन्त्री प्रचण्डले सो परिपत्र फिर्ता लिइएको नभई एमालेलाई पनि सहमतिमा ल्याएर अघि बढ्ने प्रयास गरिएको र स्थानीय तहको संख्या बढाउँदा एउटा मापदण्डनै बनाएर अघि बढ्ने गरीमात्रै सहमति भएको बताएका थिए । एमालेको मागअनुसार अब सरकारले स्थानीय तह संख्या बढाउन कार्यविधि तयार गर्ने र त्यसपछि बैठक बसेर सहमति जुटाइने बताइएको छ ।

प्रकाशित मिति: Apr 28, 2017

प्रतिक्रिया दिनुहोस्