Logo
४ बैशाख २०८१, मंगलबार
(April 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मतगणना पनि दुवै चरणमा : भारतबाट साधन आउँदै

काठमाडौं, बैशाख १३:  निर्वाचन आयोगले स्थानीय तहको प्रथम चरणको निर्वाचन सकिनासाथ मतगणना गरी परिणाम सार्वजनिक गर्ने निर्णय गरेको छ । सरकारले पहिलो चरणमा ३१ वैशाखमा प्रदेश नम्बर ३, ४ र ६ र दोस्रो चरणमा ३१ जेठमा प्रदेश नम्बर १, २, ५ र ७ मा निर्वाचन गर्ने निर्णय गरेको छ । दुवै चरणको निर्वाचन सकिएपछि मात्रै मतगणना गर्ने कि पहिलो चरणको निर्वाचन सकिएलगत्तै भन्ने अन्योल भइरहेका वेला आयोगले यस्तो निर्णय लिएको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले ३१ वैशाखमा प्रथम चरणको निर्वाचन सकिनासाथ मतगणना गरी परिणाम सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिए । प्रथम चरणको निर्वाचनको नतिजाले दोस्रो चरणको निर्वाचनलाई असर पर्न सक्ने भन्दै विभिन्न राजनीतिक दलले दुवै तहको निर्वाचन सम्पन्न भएपछि मतगणना गर्नुपर्ने बताउँदै आएका छन् । तर, आयोगले प्रथम चरणको निर्वाचनको मतपरिणामका लागि दोस्रो चरणको निर्वाचन कुर्न नसकिने स्पष्ट पारेको छ ।

‘प्रथम चरणको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचन आउन एक महिना बाँकी रहने भएकाले एक महिनासम्म मतपेटिकाको सुरक्षा गरेर राख्ने काम निकै कठिन र जोखिमपूर्ण हुन सक्छ । त्यसैले पनि तत्काल मतगणना गर्ने निर्णय भएको हो,’ प्रवक्ता शर्माले भने । आयोग स्रोतका अनुसार यसअघिका स्थानीय तहको निर्वाचन दुई चरणमा भए पनि यति लामो अन्तरमा भएको थिएन । बढीमा सातदेखि १० दिनसम्मको अन्तरमा मात्रै दुई चरणमा निर्वाचन हुँदै आएका थिए ।

आचारसंहिता यथावत्
निर्वाचन आयोगले दुवै चरणमा हुने निर्वाचनका लागि लागू गरिएको आचारसंहिता यथावत् रहेको स्पष्ट पारेको छ । आयोगले ३१ जेठमा हुने दोस्रो चरणको निर्वाचनका लागि पनि हाल लागू गरिएको आचारसंहिता यथावत् राखिएको जनाएको हो । आयोगका प्रवक्ता सहसचिव शर्माले निर्वाचनका लागि आचारसंहिता स्थगित नगरिएको बताए । ‘निर्वाचन आचारसंहिता अब ३१ जेठसम्मै रहन्छ,’ शर्माले भने ।

पहिलो चरणमा निर्वाचन हुने जिल्लामा निर्वाचन कार्यालय
निर्वाचन आयोगले देशभरमा पहिलो चरणमा हुने निर्वाचनका लागि तीनवटै प्रदेशका विभिन्न जिल्लामा निर्वाचन अधिकृतको कार्यालय खोल्ने कार्य सम्पन्न गरेको जनाएको छ । आयोग प्रवक्ता शर्माले ३१ वैशाखमा निर्वाचन हुने प्रदेश नम्बर ३, ४ र ६ प्रदेशका सबै जिल्लामा मंगलबारसम्म निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्य सकिएको जानकारी दिए । आयोगले यसअघि ७५ वटै जिल्लामा प्रमुख निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको थियो । अहिले दोस्रो चरणको निर्वाचन एक महिनापछि गर्न लागिएकाले सो अवधिसम्म प्रमुख निर्वाचन अधिकृतको कार्यालय रहनेछन् । आयोगले दोस्रो चरणमा निर्वाचन सम्पन्न हुने प्रदेश नम्बर १, २, ५ र ७ मा भने निर्वाचन अधिकृतको कार्यालय तत्काल नराखिएको जनाएको छ ।

भारतबाट यातायातका साधन आउँदै
आयोगले भारतसँग माग गरिएका सवारीसाधनलगायतका निर्वाचन सामग्री छिटै नेपाल आउने क्रम सुरु भएको स्पष्ट पारेको छ । आयोगले भारतसँग जिल्लास्थित निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयका लागि ४० वटा गाडी र केही संख्यामा मोटरसाइकल माग गरेको थियो । आयोग प्रवक्ता शर्माले भारतस“ग माग गरिएको यातायातका साधन छिटै नेपाल आइपुग्ने जानकारी दिए ।

प्रकाशित मिति: Apr 26, 2017

प्रतिक्रिया दिनुहोस्