Logo
१२ बैशाख २०८१, बुधबार
(April 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनाव चिह्न नदिए निर्वाचन हुन दिँदैनौँ: भट्टराई

गोरखा : पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीलाई आँखा चुनाव चिह्न नदिएसम्म निर्वाचन हुन नदिने चेतावनी दिएका छन्। नयाँ शक्तिले गोरखाको पालुङटारमा शनिबार आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै भट्टराईले भने, ‘जतिबेलासम्म चुनाव चिह्न दिँदैनन्, त्यति बेलासम्म निर्वाचन हुन दिदैनौँ।’
संविधान निर्माण गर्न आफूले ठूलो भूमिका खेलेको स्मरण गर्दै भट्टराईले त्याग गरेर ल्याएको संविधानमा उल्लेख भएअनुसार नै प्रक्रिया पुर्‍याएर निर्वाचन आयोगमा दल दर्ता गरिएकाले चुनाव चिह्न पनि पाउनुपर्ने तर्क गरे। उनले भने, ‘आँखा चिह्न प्राप्त गरिछाड्छौँ। निर्वाचनको तयारीमा जुट्नुहोस् ।’

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ शक्तिलाई चुनाव चिह्न दिनबाट रोक लगाएको भट्टराईले आरोप लगाए। ‘निर्वाचन आयोगमा प्रक्रिया पुर्‍याएर दर्ता भएको पार्टीलाई चुनाव चिह्न नदिने निर्णय षड्यन्त्र हो’– उनले भने, ‘राप्रपाको काँधमा प्रधानमन्त्री बस्नुभएको छ । त्यसैले आयोगलाई भनेर राप्रपाको माग पूरा गरिदिनुभयो।’
संविधान संशोधन गरेर मधेसी दललाई पनि निर्वाचनमा सहभागी गराउन भट्टराईको आग्रह छ । मधेसीको माग पूरा गराउने बहानामा चुनावको मिति हेरफेर गर्न नहुने भन्दै उनले संविधान संशोधन पारित गरी निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिए ।
यस्तै, पार्टी घोषणाको एक वर्षमै ७५ जिल्लामा सङ्गठन बनिसकेको भन्दै भट्टराईले जनताको भोटले निर्वाचन जितेर सत्तामा पुगेपछि आर्थिक समृद्धिका काम गरिने बताए। समृद्ध नेपाल बनाउन लिगलिगकोटको फेदीबाट उद्घोष गर्दै भट्टराईले पालुङटार नगरलाई देशकै नमुना नगर बनाउने योजना सुनाउँदै नगर प्रमुख, उपप्रमुखमा नयाँ शक्तिलाई जिताउन आग्रह गरे।

वामपन्थी, दक्षिणपन्थीभन्दा माथि उठेको विचार नयाँ शक्ति भएको उनको भनाइ थियो । आमसभालाई नेता देवी ओझा, पासाङ शेर्पा, गङ्गा चौधरी, करिष्मा मानन्धर, हरिशरण आचार्य, लक्ष्मीप्रसाद देवकोटालगायतले सम्बोधन गरेका थिए। रासस

प्रकाशित मिति: Apr 23, 2017

प्रतिक्रिया दिनुहोस्