मधेशी एकिकरणबारे ओलीले भने, ‘फुट्नुभन्दा जुट्नु राम्रो’
काठमाडौं, वैशाख ७ : एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेस केन्द्रित दलहरुबीच आज हुने भनिएको एकता सकारात्मक भएको बताएका छन् । नियमित उपचारको क्रममा थाइल्याण्ड गएर फर्किएका ओलीले बिमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भने ‘आज केही दलहरुबीच एकीकरण हुँदैछ भन्ने सुनेको छु । यो सकारात्मक कुरा हो’, ओलीले भने,‘फुट्नुभन्दा जुट्नु राम्रो हो ।’
चुनाव तोकिएकै मितिमा एकैचरणमा हुनुपर्ने धारणा राख्दै ओलीले भने,‘चुनाव दुई चरणमा हुन्छ तर स्थानीय निकाय र प्रदेशको ।’ सरकारले संसदमा दर्ता गरेको संविधान संशोधनको प्रस्तावको बिषयमा बोल्दै ओलीले अहिले निर्वाचनको समय भएकाले यो बाहेक अन्य बिषयमा छलफल उपयुक्त नहुँने टिप्पणी गरे ।
ओली नियमित उपचारको लागि भन्दै एक साता अघि थाइल्याण्ड गएका थिए । उनले संविधानको बिषयमा कुनै विरोध वा असन्तुष्टि भए निर्वाचनमै गएर पोख्नुपर्ने विचार राखे । ‘दलहरुको परीक्षण निर्वाचनमै हुन्छ’, उनले भने,‘असन्तुष्टि भए निर्वाचनबाटै पोख्न सकिन्छ ।’