Logo
११ बैशाख २०८१, मंगलबार
(April 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६ पार्टीवीच एकतासंगै RJP बन्यो संसदको पाँचौं दल

काठमाडौं, वैशाख ७ :  तराई मधेसमा लामो समय संघर्ष गर्दै आएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध ७ दल मध्ये ६ दल एकतावद्ध भएपछि एकतापछि बनेको राजपा गच्छदारलाई माथ गर्दै संसदको पाँचौं ठूलो दल बनेको छ ।  विहीबार एकता घोषणा गरिएपछि दलको नाम ‘राष्ट्रिय जनता पार्टी नेपाल’ बनाइएको छ ।

तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टीबीच एकता भई राष्ट्रिय जनता पार्टी गठन गरिएको हो । अब संसदमा राजपाको २५ सिट भएको छ । राष्ट्रिय दलको मान्यता प्राप्त गर्न ३ प्रतिशत थ्रेसहोल्ड र प्रत्यक्षतर्फ एक सिट जित्नै पर्ने बाध्यकारी कानून बनेपछि साना दलहरु धमाधम एकता प्रक्रियामा सामेल भएका छन् ।

विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) केही दिनअघि मात्र शिवलाल थापा नेतृत्वको जनमुक्ति पार्टीसँग एकता गरी संसदमा पाँचौं ठूलो दल बनेको थियो । संसदको पाँचौं ठूलो दल बनेको गच्छदार नेतृत्वको पार्टीमा विहीबार पुनः थरुहट तराई पार्टीका गोपाल दहित पनि मिसिए ।

दहित मिसिएपछि गच्छदारको पार्टीमा सांसदको संख्या १८ पुगेको छ । पाँचौं ठूलो दल बनेर हौसिएका गच्छदारलाई माथ गर्दै विहीबार मधेसको प्रतिनिधित्व गर्ने ६ राजनीतिक दल एक भएपछि गच्छदारको पार्टी संसदमा छैंठौं दल बन्न पुगेको छ । तराई मधेस लोकतान्त्रिक पार्टीको ११, सद्भावना पार्टी ६, तराई मधेस सद्भावना पार्टी र राष्ट्रिय मधेस समाजवादी पार्टीको ३/३, फोरम (गणतान्त्रिक) र नेपाल सद्भावना पार्टी एक एक सिट रहेका थिए ।

संघीय समाजवादी फोरमको संसदमा १५ सिट रहेको छ । विभिन्न पार्टीहरुबीच एकतापछि ३२ दल रहेको संसदमा अब २२ दल मात्र हुने भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक रहेका उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम भने मधेसी दलहरुको एकतामा सहभागी भएको छैन । उपेन्द्र नेतृत्वको फोरम डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा एकता गर्ने तरखरमा छ । नयाँ शक्तिमा एक एक सिट रहेका दुई पार्टी एक भइसकेका छन् ।

प्रकाशित मिति: Apr 20, 2017

प्रतिक्रिया दिनुहोस्