Logo
११ बैशाख २०८१, मंगलबार
(April 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सगरमाथाको आधार शिविरमा चीनले बिजुली कनेक्सन जोड्दै

लक्ष्मी लम्साल, बेइजिङ, चैत २१ । पर्वतारोहणको मौसम सुरु भएलगत्तै चीनले विश्वको सर्वोच्च शिखर सगरमाथाको तिब्बती आधार शिविरमा बिजुली जडान गर्ने भएको छ ।

तिब्बती पर्वतारोहण व्यवस्थापन केन्द्रका प्रमुख सोनानले जानकारी दिएअनुसार यस वर्षको पर्वतारोहणको सिजनमै सगरमाथाको आधार शिविरमा बिजुली जडान गरिनेछ जसबाट पर्वतारोहीको उत्साहजनक सहभागिता र सुरक्षाको प्रत्याभूति दिन सकिनेछ ।

विगतमा सगरमाथा आधार शिविरमा बिजुलीको उज्यालो नहुँदा पर्वतारोहीहरुलाई कठिनाइ हुने गरेकाले विद्युतीय सञ्जाल जडानपछि स्वच्छ र सुविधाजनक हुने अपेक्षा गरिएको छ । तिब्बती पर्वतारोहण व्यवसायीका अनुसार पर्वतारोहण मौसम अप्रिल महिनाको सुरुवातदेखि आगामी जुन महिनाको अन्तसम्म चल्ने गर्दछ ।

तिब्बतले यस अवधिमा २४ जना चिनियाँ पर्वतारोहीले सगरमाथा आरोहण गर्ने र अरु लगभग ३०० जना विदेशी पर्वतारोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत विश्वको छैठौँ शिखर चोयु, विश्वको चौधौँ शिखर शिश्यापाङ्गमाको आरोहण गर्ने कार्यक्रम रहेको जनाएको छ ।

पर्वतारोहीको सुरक्षाको लागि तिब्बती पर्वतारोहण समिति र पवित्र पहाड अन्वेषण कम्पनीले सयभन्दा बढी कर्मचारी तैनाथ गरेर पर्वतारोहीहरुलाई सघाउने जनाएको छ । चीनले यसै वर्षदेखि तिब्बततर्फको उत्तरी आधार शिविर नजिकै ८४ हजार ३२० वर्गमिटर क्षेत्रफलमा अन्तर्राष्ट्रिय पर्वतारोहण केन्द्र बनाउँदैछ ।

सन् २०१९ मा पूरा गर्ने लक्ष्य सहित दश करोड चिनियाँ युआन अर्थात् नेपाली एक अर्ब ६० करोड रुपैँया लगानी गरेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाल र चीनको सीमा क्षेत्रमा पर्दछ । सगरमाथाको चुचुरो नेपालतर्फ पर्छ ।

तिब्बतले पर्वतीय पर्यटनमा फड्को मार्न सक्ने अपेक्षाका साथ भौतिक संरचना निर्माणमा पनि तीव्रता दिएको छ । चीनले सगरमाथाको आधार शिविरभन्दा माथि १४ हजार फिट उचाइसम्म रेल चढेर पुग्नसक्ने संरचना निर्माण गरिसकेको छ भने त्यहाँ सङ्ग्रहालय बनाउने तयारी गरेको छ ।

@लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन् ।

प्रकाशित मिति: Apr 4, 2017

प्रतिक्रिया दिनुहोस्