खानामा उजुरी गर्ने जवानको हत्याबारे यस्तो छ वास्तविकता
सेनालाई खराब खाना दिइने वास्तविकतालाई पर्दाफास गरेपछि चर्चामा आएका बीएसएफ जवान तेज बहादुर एकपटक पुनः चर्चामा छन् । यस पटक सोसल मिडियामा भाइरल खबर अनुसार उनको हत्या भएको छ । स्मरण रहोस् तेज बहादुरले आफ्नो फेसबुकमा पोष्ट गरेको भिडियोले पछिल्लो दिन निकै तहल्का मच्चाएको थियो ।
उनले चारवटा भिडियो पोष्ट गरेर सीमा क्षेत्रमा सुरक्षाका लागि तैनाथ जवानलाई दिइने खानाबारे विस्तृत जानकारी दिएका थिए । सोसल मिडियामा उनको हत्याको खबर चुलिन थालेपछि यसबारे वास्तविकता थाहा पाउन भारतीय मिडियाले खोजी गर्दा उक्त खबर झुटो भएको पाइयो ।
तेज बहादुरकी श्रीमती शर्मिलाले उनी पूर्ण रुपमा ठिक भएको र आफ्नो ड्युटी गरिरहेको जानकारी दिइन् । यस्तो प्रकारको गलत अफवाह फैलाउनेहरु विरुद्ध सरकारी कारवाही गरिनुपर्ने उनले माग गरेकी छिन् ।
तेज बहादुरको भनिएको फोटो वास्तवमा छत्तिसगढमा मृत्यु भएका सिआरपिएफ जवानको हो जसको अनुहार तेजसँग निकै मिल्छ । बीएसफले पनि सोसल मिडियामा जवान तेज बहादुर यादवको मृत्युको फोटोलाई पूर्ण रुपमा खारेज गरिदिएको छ । एजेन्सी