Logo
१५ चैत्र २०८०, बिहीबार
(March 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीन दर्जन बैंक तथा वित्तीय संस्थाहरू बैंकिङ कसुरको कारबाहीमा

काठमाडौं, ११ चैत्र । पछिल्लो समय तीन दर्जन बैंक तथा वित्तीय संस्थाहरू बैंकिङ कसुरको कारबाहीमा परेका छन् ।

गत पुस महिनामा ३५ वटा बैंक तथा वित्तीय संस्थाहरू बैंकिङ कसुरको कारबाहीमा परेकामा हालै छिमेकी लघुवित्त विकास बैंक थपिएको हो ।

चैतको पहिलो सातासम्म केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुरमा १९ अर्ब ४३ करोड ५० लाख ३८ हजार ९ सय ५३ रुपैयाँबराबरको बिगो दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको छ ।
सीआईबीका अनुसार चैत ८ गतेसम्म ३७ वटा बैंक तथा वित्तीय संस्थाहरूविरुद्ध बैंकिङ कसुरको मुद्दा दायर गरेको हो ।

बैंकिङ कसुरमा १ सय १९ जना पक्राउ परेका छन् भने ४० जनालाई कारबाही सीआईबीले कारबाही गरिसकेको छ । २०६७ सालमा स्थापना भएको सीआईबीले विशेष अनुसन्धान तथा कारबाही गर्दै आएको छ ।

सीआईबीको तथ्यांकअनुसार गोरखा डेभलपमेन्ट बैंकका तीनजनालाई प्रकाउ गरी ८६ करोड ७३ लाख १६ हजार ८ सय ७८ रुपैयाँबराबरको बिगो माग गरिएको थियो ।

त्यसैगरी, नेपाल सेयर मार्केट एन्ड फाइनान्स लिमिटेडमा कसुर गर्ने तीनजनालाई पक्राउ गरी ५ अर्ब ७९ करोड २ लाख ४४ हजार ३ सय ३५ रुपैयाँबराबरको बिगो माग दाबी गरिएको छ । त्यस्तै, क्यापिटल मर्चेन्ट एन्ड फाइनान्स कम्पनीको पनि ७ अर्ब ७३ करोड ५७ लाख ४५ हजार ७ सय ५ रुपैयाँबराबरको रकम दाबी गरिएको छ भने सो कम्पनीका आठजना पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

यसैगरी, जनरल फाइनान्स कम्पनीको पनि १३ करोड ९९ लाख ४५ हजार ८ सय ८८ रुपैयाँबराबरको बिगो दाबी गरिएको छ । यस कम्पनीका दुईजनालाई पक्राउ गरी कारबाही चलाएको सीआईबीले जनाएको छ । त्यस्तै, नेपाल विकास बैंकका एकजनालाई पक्राउ गरी ३६ करोड ५ लाख ७० हजार २ सय ७३ रुपैयाँ बिगो दाबी गरेको छ । सीआईबीका अनुसार सम्झना फाइनान्स कम्पनीका कसुर गर्ने दुईजना पक्राउ गरी कारबाही चलाइएको छ ।

यस कम्पनीलाई ६ करोड २८ लाख ९२ हजार ९ सय ५९ रुपैयाँबराबरको बिगो दाबी गरिएको छ । त्यस्तै, प्रोग्रेसिभ फाइनान्स कम्पनीका एकजनालाई पक्राउ गरी ७ करोड ६९ लाख १३ हजार बिगो दाबी गरी मुद्दा दायर भएको छ । त्यसैगरी, युनाइटेड विकास बैंकले ९ करोड २४ लाख २८ हजार २ सय ६ रुपैयाँबराबरको घोटाला गरेको थियो । यस कम्पनीका दुईजनालाई पक्राउ गरी कारबाही चलाएको सीआईबीले जनाएको छ ।

छिमेकी लघुवित्त विकास बैंकमा कसुर ठहर गर्दै सीआईबीले एकजनालाई पक्राउ गरेको छ । यस संस्थाको बिगो दाबी भने सिआइबीको तथ्यांकमा उल्लेख छैन । यसैगरी, क्रिस्टल फाइनान्स, श्रीलंका मर्चेन्ट एन्ड फाइनान्स कम्पनी, एचएन्डबी फाइनान्स कम्पनी, हिमालय फाइनान्स कम्पनी, वैभव फाइनान्स कम्पनीलगायतका बैंक तथा वित्तीय संस्थाहरूउपर सीआईबीले बैंकिङ कसुरअन्तर्गत मुद्दा चलाएको छ ।

त्यस्तै, सीआईबीका अनुसार सिद्धार्थ डेभलपमेन्ट बैंक, तत्कालीन किस्ट बैंक ,एनआईडीसी क्यापिटल मार्केट्स, एनबी बैंक, सिभिल बैंक, बुटवल फाइनान्स, पिपल्स फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, कृषि विकास बैंक (स्वयम्भू शाखा) एभरेस्ट बैंकलगायतका बैंक तथा वित्तीय संस्थाहरूले बैंकिङ कसुर गरेको सीआईबीको तथ्यांकले देखाएको छ ।

त्यस्तै, बैंकिङ कसुर गरी कारबाहीमा पर्ने बैंक तथा वित्तीय संस्थाहरूमा ग्लोबल आईएमई बैंक, प्रुडेन्सियल फाइनान्स कम्पनी, कुवेर मर्चेन्ट फाइनान्स कम्पनी तथा मञ्जुश्री फाइनान्सिएल इन्सिस्टनल कम्पनी रहेका छन् ।

सिभिल बैंक, हिमालय तत्कालीन इम्पेरियल फाइनान्स कम्पनी तथा पश्चिमाञ्चल फाइनान्स कम्पनीलगायतका बैंक तथा वित्तीय संस्थाहरूलाई कारबाही गरेको सीआईबीको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति: Mar 24, 2017

प्रतिक्रिया दिनुहोस्