चुनाव चिन्ह नपाएपछि बाबुरामको पार्टीमा तनाव !
काठमाडौं, ९ चैत्त । पार्टीले चुनाव चिन्ह नपाएपछि बाबुराम भट्टराईको पार्टीमा तनाव उत्पन्न भएको छ । निर्वाचन आयोगमा दल दर्ता भएपनि नयाँ शक्ति पार्टी नेपाललाई आयोगले चुनाव चिन्ह नदिएपछि नेताबिच तनाव बढेको हो ।
कतिपय नेताहरुले आयोग विरुद्ध सर्वोच्चमा जानुपर्ने बताएका छन् भने कतिपयले शान्तिपूर्ण ढंगले आयोग र सरकारको ध्यानाकर्षण गराउनुपर्ने बताएका छन् ।
उता कतिपयले भने स्थानीय निकाय निर्वाचन ऐन २०७३ को दफा ५३७ मा भएको व्यवस्थाअनुसार आयोगमा दर्ता भएका पार्टीहरुलाई निर्वाचन चिन्हबाट वञ्चित गरे पनि स्वतन्त्र निर्वाचन चिन्ह लिनुपर्ने भन्दै आवाज उठाएका छन् ।
बाध्यात्मक व्यवस्था प्रति असहमती र विरोध गराउँदै नयाँ शक्ति पार्टीका संयोजक डा. भट्टराई सहितका नेताहरुले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन ।
त्यस्तै नेताहरुले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेट्ने तयारी गरेका छन् । बेलुकी साढे ६ बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा प्रचण्डलाई भेटेर असहमती जनाउने भट्टराईको सचिवालयले जनाएको छ ।
त्यस्तै नयाँ शक्ति पार्टीका संयोजक डा. भट्टराईले उक्त बाध्यात्मक व्यवस्थाको विरोध गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै ‘पुराना शक्तिहरूको अलोकतान्त्रिक चरित्रको अर्को नांगो नमूना, स्थानीयतहको निर्वाचनमा पुरानो संसदमा नरहेका दलहरूलाई निर्वाचन चिन्ह नदिने प्रपंच ?’ भनेका छन् ।