स्थानीय चुनावमा उम्मेद्वार बन्न साझा पार्टीले गर्यो आग्रह
काठमाडौं, चैत ८ । पत्रकारिता छाडी राजनीतिमा आएका रवीन्द्र मिश्रको संयोजकत्वमा गठन भएको साझा पार्टीले स्थानीय निर्वाचनका लागि उम्मेद्वार माग गरेको छ ।
स्थानीय स्तरमा देखिँदै आएको विकृत र गुटबन्दीयुक्त दलीय राजनीतिकरणका कारण समाजसेवाको इमानदार भावना बोकेका मानिस राजनीतिबाट किनारा लगाइएको भन्दै त्यस्ता व्यक्तिलाई साझा पार्टीका तर्फबाट स्वतन्त्र उम्मेदवार बन्न पार्टीले आग्रह गरेको छ ।
मंगलबार विज्ञप्ति निकालेर साझा पार्टीका तर्फबाट वैशाख ३१ मा हुने चुनावमा स्वतन्त्र उम्मेद्वार उठाउने निर्णय गरेको जानकारी गराएको छ। साथै चुनावमा उम्मेद्वार हुन आह्वान पनि गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘साझा पार्टीका मूल्य-मान्यता (पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टता) तथा आदर्श (सहभागितामूलक लोकतन्त्र र कल्याणकारी-उदारवादी अर्थतन्त्र) लाई प्रवर्द्धन गर्ने र आउँदो राष्ट्रिय निर्वाचनका लागि पार्टीको सङ्गठनात्मक आधार तयार पार्ने काम पनि हाम्रा सम्मुख छ ।
त्यसको पृष्ठभूमि तयार गर्नका लागि समेत हाम्रा मूल्य-मान्यतालाई अङ्गीकार गर्ने देशभरका नेपालीहरूलाई स्थानीय निकायमा विभिन्न तहमा उमेदवारी दिन र साझा पार्टीका एकाइ र समितिहरू निर्माण गर्न यो पार्टी आह्वान गर्दछ ।
साझा पार्टीको स्थानीय तहको विभिन्न स्तरमा नेतृत्व सम्हाल्ने सम्भावनाका बारेमा सोच बनाएका साथीहरूलाई ‘स्वतन्त्र’ उमेदवारी दिन हामी प्रोत्साहित गर्दछौँ।’
स्थानीय निर्वाचनका क्रममा साझा पार्टीको पक्षमा सङ्गठित भएका समूहहरूलाई पार्टीको औपचारिक सङ्गठनका लागि तयार रहन पनि आग्रह गरिएको छ ।
पार्टी निर्वाचन आयोगमा दर्ता नभएकाले साझा पार्टी समर्थित उमेदवार भए पनि उनीहरूले साझा पार्टीको चुनाव चिह्न प्रयोग गर्न या साझा पार्टीको नाममा चन्दा उठाउन भने नपाउने विज्ञप्तिमा प्रष्ट पारिएको छ ।