Logo
७ बैशाख २०८१, शुक्रबार
(March 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुनैपनि हालतमा चुनाव हुन्छ, हुन्छ, हुन्छ : देउवा

काठमाडौँ, ७ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्धारीत समयमा निर्वाचन हुनेमा शंका नगर्न सबैलाई आग्रह गर्नुभएको छ । कांगे्रस मासिक पत्रिकाले सोमबार भक्तपुरमा आयोजना गरेको नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको सातौँ पुण्य स्मृति दिवस कार्यक्रममा सभापति देउवाले निर्वाचन नभए संविधान कार्यान्वयन अवरुद्व हुने बताउनुभयो ।

गाउँगाउँमा चुनावको माहौल बनेको बताउँदै उहाँले निर्वाचन हुन्न कि भनेर शंका नगर्न र निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । सबै मिलेर निर्वाचनलाई सफल पार्नुपर्नेमा जोड दिँदै उहाँले निर्वाचन पश्चात् संविधान कार्यान्वयन हुने र गणतन्त्रको उपलब्धि मजबुद हुने उल्लेख गर्नुभयो ।

चुनाव नभए संवैधानिक संकट आउने र यसले प्रजातन्त्र खतरामा पर्ने औल्याउँदै देउवाले भन्नुभयो, ‘चुनाव नहुने कुरै छैन, चुनाव हुन्छ, हुन्छ, हुन्छ, यसमा शंका नगर्नुस्, चुनाव नभए संवैधानिक संकट आउँछ, प्रजातन्त्र खतरामा पर्छ ।’ पहाड, हिमाल र तराईलाई फुटाएर विभाजन गरेर यहाँका बासिन्दाको एकता भाड्ने षडयन्त्र भइरहेको बताउँदै देउवाले भन्नुभयो, ‘तराई, पहाड, र हिमालमा बस्ने सबै नेपालीहरु बिच फाटो ल्याउने षडयन्त्र भइरहेको छ, यसलाई चिर्न पनि कांग्रेसले निर्वाचनलाई सफल पार्नु जरुरी छ ।’

कार्यक्रममा नेपाली कांग्रेसका सांसद रामेश्वर ढुङ्गेल, मनमोहन भट्टराई, कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेत, नेता मधु आचार्य, जिल्ला सभापति दूर्लभ थापा लगायतले पार्टी एक ढिक्का बनाएर चुनावमा गएर जित हासिल गर्न सके गिरिजाप्रसाद कोइरालाप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।

निर्वाचनको वातावरण बनाउन नेकपा एमाले र मधेसवादी दलसँग निरन्तर वार्ता भैरहेको बताउँदै देउवाले निर्धारीत समयमा निर्वाचन गर्न कांग्रेस लागि परेको उल्लेख गर्नुभयो । स्थानीय तहको निर्वाचन कुनै हालतमा नरोकिने बताउँदै उहाँले निर्वाचन हुन्न कि भन्ने शंका नगर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । कांग्रेस बाहेक सबै सर्वसत्तावादी पार्टी भएको आरोप लगाउँदै उहाँले पहाड, हिमाल र तराईलाई फुटाउने षडयन्त्र कांग्रेसले सफल हुन नदिने बताउनुभयो ।

प्रकाशित मिति: Mar 20, 2017

प्रतिक्रिया दिनुहोस्