आईजीपी विवामा फेरी नयाँ कुरा: अर्यालद्धारा रिट दायर
काठमाडौं, चैत ७ । दोस्रो वरियतामा रहेका डीआईजी प्रकाश अर्यालले आफ्नो पनि कार्य सम्पादन मुल्यांकन हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सर्वोच्च अदालतले सरकारले प्रहरी महानिरीक्षकमा नियुक्ति गरेका जय बहादुर चन्द र वरिष्ठताका आधारमा हुनुपर्ने माग गर्दै सर्वोच्च पुगेका डीआईजी नवराज सिलवालको कार्य सम्पादन मुल्यांकन फाइल मगाएपछि दोस्रो वरियतामा रहेका अर्यालले आफ्नो पनि कार्य सम्पादन मुल्यांकन हुनुपर्ने जिकीर गर्दैै रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन् ।
सर्वोच्चको पूर्ण इजलासले आईजीपी विवाद सम्बन्धमा अन्तिम सुनुवाई गरिरहेको छ । आइतबार नै सर्वोच्च पुगेका अर्यालको रिट निवेदन दर्ता भने हुन सकेको थिएन ।
तर सोमबार विहान १० बजेपछि पुनः सर्वोच्च पुगेका अर्यालको रिट दर्ता गरिएको थियो ।
डीआईजी अर्यालको तर्फबाट अधिवक्ता सुवास लामिछानेले रिट दर्ता गराएका हुन् ।
आईजीपीका दाबेदार चारै जनाको फाईल अध्ययन गर्नुपर्ने भए पनि सर्वोच्चले दुई जनाको मात्र मगाउँदा दोस्रो नम्बरमा रहेकालाई अयोग्य भन्न खोजिएको हो ? भन्ने जिकीर निवेदनमा गरिएको अधिवक्ता लामिछानेले बताए ।