Logo
७ बैशाख २०८१, शुक्रबार
(March 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्तारुढ दलप्रति एमाले आक्रमक, ओलीले दिए यस्तो दनक !

काठमाडौं, ४ चैत्र । पछिल्लो समय सत्तारुढ दलप्रति एमाले आक्रमक बनेको छ । एमालेका नेताहरु मेचि–महाकालि अभियानमा पनि सत्तारुढ दलप्रति खनिएका छन् । निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेका नेताहरु नेपाली कांग्रेस, माओवादी प्रति आक्रामक बनेका हुन ।

एमाले अध्यक्ष केपी शर्मा ओली पछिल्लो पटक प्रधानमन्त्री प्रचण्ड र सभापति शेरबहादुर देउवामाथि खुलेरै खनिन थालेका छन् ।

कञ्चनपुरस्थित जिल्ला पार्टी कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ओलीले सत्तारुढ दलप्रति खनिदै सत्तापक्ष हार्ने डरले चुनावबाट भाग्न खोजेको बताए ।

प्रधानमन्त्री प्रचण्ड मधेसी मोर्चाको षड्यन्त्रको बन्दी हुन लागेको भन्दै ओलीले मोर्चाको नियत बुझेर भ्रममुक्त हुन सुझाव दिए । स्थानीय तहको संख्या बढाउने कुरा चुनाव नगराउने षड्यन्त्र भन्दै अब समय नरहेको समेत उनले जिकिर गरे ।

ओलीले भने, ‘चुनावमा आउँछन् कि भनेर संख्या बढाउने भन्नुहुन्छ तर, उनीहरुको नियत अर्कै छ । चुनावमा नआए पनि भोलि हामीले भन्ने ठाउँ हुन्छ भन्ने उहाँको भनाइ छ । यो चुनाव नहुने कुरा भयो ।’
आजमात्रै आफूले प्रधानमन्त्री प्रचण्डसँग कुरा गरेर स्थानीय तहको संख्या बढाउने समय नभएकाले त्यसमा नफस्न सुझाव दिएको ओलीले सुनाए ।

‘मैले प्रधानमन्त्रीलाई भनेको छु, तपाई आफैं षड्यन्त्र गर्दै हुनुुन्छ कि अर्काको षडयन्त्रमा पर्नुभएको छ ?’ उनले भने, ‘लोकतान्त्रिक प्रक्रिया, बहुमतको निर्णय नमान्ने र शान्तिपूर्ण राजनीतिक गतिबिधिमा बम हान्नेको भ्रममा परेर अलमल नगर्नुस् भनेको छु ।’

उनले कांग्रेस सभापती देउवा पछिल्लो समय भारतको कठपुतले बनेको बताए । ओलीले आरजु कारण देउवाको अस्तित्व समाप्त हुन थालेको समेत जिकिर गरे । मधेसी मोर्चा सरकारले डामेर छाडेको साँढे जस्तो भएको ओलीको टिप्पणी थियो ।

उनले लोकतान्त्रिक प्रक्रिया नमान्ने, अपराधिक गतिबिधि गर्ने र शान्तिपूर्ण कार्यक्रममा बम हान्नेहरुलाई पूर्ण रुपमा छुट दिइएको भन्दै आपत्ति जनाए ।

उनले प्रमुख सत्तारुढ घटक कांग्रेसमाथि सरकार र गृह प्रशासन गलत ढंगले प्रयोग भइरहेको समेत आरोप लगाए ।

एमाले अध्यक्ष ओलीले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा समेत आफूले हार्ने क्याम्पसमा चुनाव हुन नदिएर सत्तापक्षले गृह प्रशासनको दुरुपयोग गरेको आरोप लगाए ।

उनले भने, ‘सरकारमा हुनेहरु विद्यार्थीको चुनावमा समेत आफूले जित्ने भएमात्र चुनाव गराउने, नत्र हार्ने चुनाव नगर्ने, परिणाम घोषणा हुन नदिने र चुनावै हुन नदिने षडयन्त्रमा लागेका छन् ।’

ओलीले अघि भने, ‘कांग्रेसको प्रजातान्त्रिक अभ्यास कहाँनिर छ मलाई बताइदिए हुन्छ । दुई दिनपछि काठमाडौं गएर म शेरबहादुरजीलाई सोध्नेछु ।’ अध्यक्ष ओलीले स्थानीय प्रशासनहरुलाई सत्तापक्षको अनुचित दबावका आधारमा विपक्षीमाथि दमन नगर्न चेतावनी दिए । ‘प्रतिपक्षीलाई मुद्दा लगाउने, अपराध गर्नेलाई छुट दिने काम भइरहेको छ,’ उनले भने, ‘म भन्छु, डेढ महिने म्यादी सरकारको हुलामुलामा लागेर प्रशासनले काम नगरोस् ।’

यसरी पछिल्लो समय एमाले सत्तारुढ दलप्रति अल्लि बढिनै आक्रमक बन्दै गएको हो । एमालेको अभियानमा एमालेका नेताले सत्तारुढ दलको कडा रुपमा आलोचना गरेका थिए ।

प्रकाशित मिति: Mar 17, 2017

प्रतिक्रिया दिनुहोस्