Logo
१३ बैशाख २०८१, बिहीबार
(March 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कञ्चनपुर घटनालाई लिएर निधि र भारतीय गृहमन्त्री सिंहबीच छलफल

नयाँदिल्ली, ३ चैत  ।  भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय समकक्षी राजनाथ सिंहबीच आज बिहान भेटवार्ता भएको छ । नर्थ ब्लकस्थित गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री निधिले केही दिनअघि कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एकजना नेपालीको मृृत्यु भएको घटनाबारे गृहमन्त्री सिंहको ध्यानाकर्षण गराएको गृह मन्त्रीका प्रेस संयोजक रामजी दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जवाफमा भारतीय गृहमन्त्री सिंहले सो घटनालाई अपसोचपूर्ण घटना भन्दै त्यसप्रति दुःख व्यक्त गरेका थिए । त्यस अवसरमा गृहमन्त्री निधिले नेपाल भारत सीमा विवादका सम्बन्धमा विगत तीन वर्षदेखि काम गर्दै आएको तीनवटा संयुक्त प्राविधिक टिममा दुईवटा टिम थपेर सीमास्तम्भ लगायतका प्राविधिक कामलाई थप गति दिने प्रस्ताव गरेका थिए ।

भारतीय गृहमन्त्री सिंहले प्राविधिक टिम थप्ने विषयमा भारतीय पक्ष सकारात्मक भएको प्रतिक्रिया दिएका थिए । दुई देशका गृहमन्त्रीबीच सुरक्षा क्षेत्रमा विद्यमान आपसी सहयोगलाई निरन्तरता दिने र आगामी दिनमा त्यसलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो । भारतीय समकक्षी सिंहसँगको भेटमा गृहमन्त्री निधिले विगतको संविधान सभा चुनावमा भारतीय पक्षले गृहमन्त्रालय र निर्वाचन आयोगलाई आवश्यकपर्ने लजिस्टिक सपोर्ट गरेकोमा आभार व्यक्त गर्दै आगामी निर्वाचनमा पनि सहयोगका लागि आग्रह गरेका थिए।

भारतीय समकक्षी सिंहले लजिस्टिक सपोर्ट गर्ने विषयलाई सकारात्मक रुपमा लिएका थिए । सो भेटमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि सहभागी थिए । प्रति आतङ्कवाद सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन तीन दिनअघि नयाँदिल्ली आएका गृहमन्त्री निधि राजनीतिक भेटघाटमा व्यस्त छन् । रासस

प्रकाशित मिति: Mar 16, 2017

प्रतिक्रिया दिनुहोस्