Logo
१२ श्रावण २०८१, शनिबार
(March 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरीकाण्डपछि मधेसमा देखिएन होलीको रौनकः शोकमा सामूहिक केश मुण्डन

सप्तरी, ३० फागुन । तराई/मधेसका जिल्लाहरुमा सोमबार होली मनाइरहे पनि कुनै रौनक र उत्साह देखिएको छैन । होलीको दिन सप्तरीसहितका जिल्ला शोकसँगै आक्रोशमा देखिएका छन् । सप्तरीको मलेठ गाविसमा फागुन २३ गते भएको गोलीकाण्डमा पाँच जना मारिएको शोकमा सोमबार बिहानै सामूहिक मुण्डन गरिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अगुवाइमा भएको यो कार्यक्रममा केही सञ्चारकर्मीले समेत मुण्डन गराएका छन् ।

पत्रकार रामनारायण विश्वास र श्यामसुन्दर यादवले समेत मुण्डन गराएका छन् । सामूहिक मुण्डन पश्चात राजविराजको गजेन्द्र चोकमा एमाले अध्यक्ष केपी ओलीको पुत्ला दहन गरिएको छ । होलीकाको ठाउँमा ‘ओलीका’ दहन गरिएको मोर्चा कार्यकर्ताहरुले बताएका छन् । रंग र अबिर लगाउने दिनमा सप्तरी सदरमुकाम राजविराजमा सामूहिक मुण्डन गरिएको छ भने होलिका दहन गर्नुपर्ने ठाउँमा एमाले अध्यक्ष केपी ओलीको पुत्ला जलाइएको छ ।

मृतकहरुको आत्माको शान्तिको कामना गर्दै गरिएको सामूहिक मुण्डन कार्यक्रममा संघिय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र साह, सुर्यनाथ यादव, अशोक यादव, प्रदेश सचिव शम्भु झा, राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र मण्डल, जिल्ला अध्यक्ष सतिश सिंह, सद्भावना पार्टीका केन्द्रीय सदस्य दिनेश यादव, दिपेन्द्र चौधरी, सत्यनारायण यादव, जिल्ला अध्यक्ष सुनिल झा, क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, सदभावना निकट रक्षा बाहिनीका अध्यक्ष बिनोद यादव, मधेसी मोर्चाका जिल्ला संयोजक दिनेश यादव, संघीय समाजवादी फोरम नेपालका युवा नेता नवनीत झा, विद्यार्थी मंचका केन्द्रीय अध्यक्ष किशोर कुमार यादवसहित तीन दर्जनले सामूहिक मुण्डन गरेका छन् ।

मोर्चाका नेताहरुले यस पटकको होली तडकभडकका साथ नमनाउन जिल्लाबासीसँग अपिल गरिसकेका छन् । मलेठ घटनापछि मधेसबासीले होली नमनाउने उदघोष सामाजिक संजालहरुबाट गरेका छन् ।

 

प्रकाशित मिति: Mar 13, 2017

प्रतिक्रिया दिनुहोस्