Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केन्यासँग आफ्नै भूमिमा यसरी हार्‍यो नेपाल

काठमाडौं  । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल केन्यासँग ५ विकेटले पराजित भएको छ । घरेलु टोली नेपाल कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा केन्यासँग ५ विकेटले पराजित भएको हो । घरेलु मैदानमा समर्थकहरुको बाक्लो उपस्थितिलाई नेपाली टोलीले निराश पारे । बिहानैदेखि समर्थकहरु पानीको समेत परबाह नगरी नेपाली टोलीको हौसला बढाउन कीर्तिपुर पुगेका थिए ।

तीन पटकसम्म ओभर घटाएर अन्तिममा २६ ओभर कायम गरिएको खेलमा केन्याले जितका लागि ९४ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य २४ ओभर १ बलमा केन्याले ५ विकेटको क्षतिमा हासिल गर्यो । हारसँगै नेपालको अर्को चरणमा पुग्ने सम्भावना कठीन बन्दै गएको छ । ९ खेल खेलेको नेपालको जम्मा ६ अंक रहेको छ भने छैटौं स्थानमा रहेको छ । यस्तै केन्या १० अंकसहित पाँचौं स्थानमा रहेको छ ।

शीर्ष ४ मा रहने टोली विश्वकप छनोटको अर्को चरणमा प्रवेश गर्नेछन् । आजको खेल वर्षाका कारण पटक पटक रोकिँदै सुचारु हुँदै आएको थियो भने बिहान ९ बजेदेखि सुरु हुने भनिएको खेल साढे ११ बजेदेखि सुरु भएको थियो । निर्धारित ५० विकेटको खेललाई घटाएर ३८ ओभरमा झारिएर सुचारु गरिएको खेलमा नेपालले ८ विकेटको क्षतिमा ३६ ओभरमा ११२ रन बनाएर खेल्दै थियो । तर त्यही बेलामा पानी पर्न थालेपछि आइसीसीले घटाएर २९ ओभरको खेल कायम गर्यो ।

सो पछि नेपालको १०४ रनको लक्ष्य पाएको केन्याले २१ दशमलब २ बलमा ५ विकेट गुमाउँदै ८० रन बनाएर खेल्दै गर्दा पुन खेल रोकिन पुगेको थियो भने केहिबेरको वर्षापछि खेल पुन सुचारु गरिएको थियो । त्यसपछि ओभर घटाएर २६ कायम गरिएको थियो भने केन्याको लक्ष्य ९४ कायम गरिएको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नेपालका लागि ज्ञानेन्द्र मल्लले २७, दीपेन्द्र सिंह ऐरीले १९ र सागर पुनले १० रन बनाउनु बाहेक अरु ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

यस्तै शक्ति गौचन र सोमपाल कामी क्रमशः १८ र १५ रन बनाएर खेल्दै गर्दा पानी पर्न पुगेको हो । बलिङ तर्फ केन्याका सेम नेगोचीले सर्वाधिक तीन विकेट लिए ।
यस्तै केन्याको जितमा रकिप पट्टेलले सर्वाधिक ३४ रनको योगदान दिए भने कोलिन्सले २४ रनको योगदान दिँदा अरु ब्याट्समान भने खासै चल्न सकेनन् ।

यसअघि तीन पटक एकदिवसीय विश्वकपसमेत खेलिसकेको केन्या नेपालभन्दा अनुभवी टोली हो ।

प्रकाशित मिति: Mar 12, 2017

प्रतिक्रिया दिनुहोस्