Logo
८ बैशाख २०८१, शनिबार
(March 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेसी विरुद्ध सरकारले युद्ध घोषणा गर्यो, जवाफ दिन्छौं : उपेन्द्र

काठमाडौं, २९ फागुन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको मलेठमा मधेसी जनतामाथि गोली प्रहार गरेर सरकारले मधेसी जनताविरुद्ध युद्धको घोषणा गरेको बताएका छन् । उनले आफूविरुद्ध भएको युद्धको घोषणाको जवाफ मधेसी जनता दिन तयार रहेको बताए ।

सप्तरी घटनामा मारिएका पाँचजनाको शव यात्रामा सहभागी हुन शनिबार राजविराज पुगेका यादवले आइतबार आयोजित पत्रकार सम्मेलनमा संघीय गठबन्धन र मधेसी मोर्चाले अब राष्ट्रिय चरित्रको आन्दोलन गर्ने चेतावनी दिए ।

उनले भने, ‘राजनैतिक शिष्टाचार अनुरुप एक हप्ताको समय दिएका हौं, त्यो अवधीमा माग पूरा नभए राष्ट्रिय रुपमै आन्दोलनको घोषणा हुन्छ, जसको संकेत २७ फागुनको बन्दले देखाइसकेको छ ।’

सप्तरी घटना मधेसप्रतिको नीति र चरित्रमा सरकार र एमालेको शासकवादी तथा नश्लीय चरित्रलाई उदांगो पारेको आरोप लगाउँदै यादवले भेदभाव र असमानता रहुञ्जेल संघर्ष जारी रहने बताए ।

उनले भने,‘काले भारतीय, विदेशी र माखे लगायतका अपमानित गर्ने शब्द प्रयोग गरी एमालेले विगतमा मधेशी जनतालाई आक्रोशित बनाए जसको परिणामस्वरुप एमालेको विरुद्धमा मधेसमा जनमत बनेको हो ।’
उनले एमालेको अभियानले राष्ट्रिय एकता तोडने र देश विखण्डनको विजारोपण गर्ने यादवले आरोप लगाए ।

कञ्चनपुरमा एसएसबीको गोली लागि नेपालीको मृत्यु भएको सन्दर्भमा फोरम अध्यक्ष यादवले घुमाउरो पारामा जवाफ दिए ।

उनले कञ्चनपुर घटनाका बारेमा सरकारले छानबिन गरी जवाफ दिनुपर्ने बताउँदै उनले भने,‘सरकारले आफ्नो तर्फवाट गोली नचलाइएको बताइरहेकाले स्पष्ट के हो सरकारले जवाफ दिनुपर्छ ।’ उनले एकातिर नेपाली जनतालाई गोली ठाकेर मार्ने अर्कोतिर कञ्चनपुरमा नेपाली जनतालाई सुरक्षा गर्न नसक्ने सरकार असक्षम भएको आरोप लगाए ।

आफूहरु निर्वाचनविरोधी नभएको बताउँदै यादवले संविधान संशोधन, प्रादेशिक संरचना र स्थानीय तह पुनर्संरचनाको विवाद नमिलेसम्म निर्वाचन हुन नसक्ने बताए ।

प्रकाशित मिति: Mar 12, 2017

प्रतिक्रिया दिनुहोस्