Logo
७ बैशाख २०८१, शुक्रबार
(March 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केहि दिन मौन बसेका एमाले २ नम्बर प्रदेशमा अगुवा भेला गर्ने

काठमाडौ , फागुन २५ । मेची महाकाली अभियानका क्रममा सप्तरीमा भएको गोली काण्डपछि एमालेले प्रदेशनम्बर २ स्तरीय विस्तारित अगुवा कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । महासचिव ईश्वर  पोखरेलका अनुसार ती कार्यक्रमहरुको कार्यतालिका प्रदेश नम्बर २ को पार्टी नेतृत्वसँग परामर्श गरेर मात्रै तय गरिनेछ । जिल्लामा हुने कार्यक्रमको मिति जिल्ला कमिटिले नै तय गर्नेछन् ।
एमाले केन्द्रीय सचिवालयको आज बसेको बैठकले प्रदेश नम्बर २ अन्तर्गतका जिल्लाहरुमा कार्यकर्ता भेलाका साथै जिल्लास्तरीय सभाहरु गरेर सप्तरी घट्ना र मेची महाकाली अभियानका बारेमा जानकारी गराउने समेत गर्ने निर्णय भएको महासचिव पोखरेलले बताएका छन् ।

त्यस्तै सचिवालय बैठकले सप्तरीको राजविराजमा मधेसी मोर्चाका नाममा अवाञ्छित तत्वहरुद्वारा सिर्जित आपराधिक घटना र त्यसपछि उत्पन्न परिस्थितिको संवेदनशीलतालाई ख्याल गर्दै तीन दिनका लागि स्थगित भएको हाम्रो पार्टीद्वारा सञ्चालित मेची–महाकाली राष्ट्रिय अभियान फागुन २७ गते हेटौंडाबाट पूर्ववत सुचारु गर्ने निर्णय समेत गरेको छ ।

यसअघि निर्धारण भएको कार्यतालिका अनुसार बाँकी सबै कार्यक्रम आयोजना हुने भएकाले त्यसका लागि सक्रियतापूर्वक क्रियाशील हुन, व्यापक जनसहभागिता जुटाउन र मेची–महाकाली यात्रामा आ–आफ्ना सवारी साधनसहित उपस्थित हुन मातहत कमिटी र सदस्यहरुलाई एमालेले निर्देशन दिएको छ ।

त्यस्तै एमालेले राजविराजमा आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममा गरिएको हस्तक्षेपका विरुद्धमा कार्यकर्तालाई स्पष्ट पार्न, आपराधिक घटनाको भण्डाफोर गर्न र घटनाको वास्तविकता जानकारी गराउन भोलि फागुन २६ गते बिहीबार २ बजे बृहत् भेला आयोजना गर्ने निर्णय गरेको बैठकपछि एमाले प्रचार विभाग प्रमुख योगेश भटटराइद्धारा जारी विज्ञप्तिमा जनाईको छ ।

नेकपा एमालेले मधेसका विभिन्न जिल्लामा आफ्ना पार्टी कार्यालय, नेता–कार्यकर्ता तथा सर्वसाधारणका घरहरु, सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गरिएको घटनाको विरोध गर्दै आफ्ना नेता–कार्यकर्ता र पार्टी कार्यालयहरुको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति: Mar 8, 2017

प्रतिक्रिया दिनुहोस्