सप्तरीमा गोलीकाण्ड एमालेको उत्तेजक भाषणका कारण: कांग्रेस सांसद्
काठमाडौं, फागुन २४ । नेपाली कांग्रेसका तराई मधेसका जनप्रतिनिधिले एमाले नेताको उत्तेजक भाषणले सप्तरीमा गोलीकाण्ड निम्तिएको आरोप लगाएका छन् । यसका साथै सांसद्ले संविधान संशोधनको प्रकृया अवरुद्ध बनाएर नेकपा एमालेको मेची-महाकाली अभियानको नाममा गरिएको कार्यक्रम समयसापेक्ष नभएको समेत विज्ञप्तिमा उल्लेख गरेका गरेका छन् ।
कांग्रेसका तेजुलाल चौधरी, आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, राम अयोध्या प्रसाद यादव र सुरेन्द्रप्रसाद चौधरी लगायत १९ जनप्रतिनिधिले मंगलबार संयुक्त विज्ञप्ति निकालेर आरोप लगाएका हुन् । विज्ञप्तिमा एमाले सामाजिक सद्भाव बनाउन होइन बिगार्न अभियान थालेको आरोप लगाउँदै भनेका छन् ‘संविधानले शान्तिपूर्ण सभा, सम्मेलन गर्ने अधिकार सुनिश्चित गरेको छ तर सामाजिक सद्भावलाई खलल पार्ने अभिव्यक्ति दिन अनुमति दिँदैन ।’
विज्ञप्तिमा भनिएको छ, ‘ संविधान संशोधनको प्रकृया अवरुद्ध बनाएर एमालेको मेची-महाकाली अभियान समयसापेक्ष हो ? कि होइन भन्ने विचार पुर्याएर कार्यक्रम गरिनुको सट्टा एमालेका नेताले उत्तेजित भाषण गरेर तराई मधेसका जनतालाई आक्रोशित बनाउनु र आन्दोलन गर्न बाध्य बनाउनु पनि अनुचित कार्य भएको छ । एमालेको नेताको उत्तेजित भाषणप्रति सप्तरीमा भएको प्रदर्शनमा गोली चलाएर घटना घटाइएको देखिन्छ ।’