Logo
७ बैशाख २०८१, शुक्रबार
(March 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ, २२ फागुन । जिल्लाको पश्चिम रिघा गाविस-७ मनेवापाटामा आइतबार भिषण पहिरो खसेर दरमखोला थुनिएको छ। उक्त घटनामा एक महिलाको ज्यान गएको छ । दरमखोलामा थुनिएर खोला छेउमा रहेको केन्द्रीय विद्युत प्रसारण लाइनको ट्रान्सफर्मर राखिएको स्थल डुबानमा परेको र पहिरोले गाउँमा पोल ढलेको देखेपछि घरको बिजुलीको मेन स्विच बन्द गर्ने क्रममा रिघा-७ का ५६ बर्षीया मनकुमारी नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ।

‘विद्युत प्रसारण अनियमित भइ उच्च करेन्ट प्रवाह हुँदा घरको कालो तारमा आगलागी भएको रहेछ,’ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक अनिल खड्काले भने, ‘आगलागी भएको देखेर पानी हालेर निभाउने र स्वीच अफ गर्ने क्रममा नेपालीको ज्यान गएको देखिन्छ ।’

पहिरो गएको क्षेत्रमा विद्युतको केन्द्रीय प्रसारण लाइनको पोल र तार समेत खोलामा पुगेपछि करेण्ट लागेर गम्भीर घाइते भएकी नेपालीलाई उपचारका लागि हटिया लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब निरीक्षक बानियाँले बताए । पुष्पलाल मध्यपहाडी लोकमार्गमा १ सय ५० फिट माथिबाट खसेको सुख्खा पहिरोले बिहान ५ बजेदेखी दरमखोला थुनिएको थियो । घण्टौदेखी खोला थुनिएपछि त्यहाँ २० मिटर भन्दा बढी गहिराई र करिब दुई सय मिटर लामो ताल बनेको छ ।

खोला थुनिएको चार घण्टापछि विस्तारै माथिबाट पानीको बहाव बग्न थालेको छ । पानी माथिल्लो भागबाट बिस्तारै बग्न थालेपछि ताल फुट्ने जोखिम कम हुँदै गए पनि प्रहरीले थुनिएर बनेको ताल जुनसुकै बेला फुट्न सक्ने भन्दै आवश्यक सुरक्षा सजगता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।

तटीय क्षेत्रका खरबाङ, वामीटक्सार, भुवाचिदी, रिडी, रुद्रबेणीका बासिन्दालाई सचेत रहन अपिल गरिएको प्रहरीले जनाएको छ । पहिरोका कारण पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ-बुर्तिबाङ सडकखण्ड पूर्ण रुपमा अवरुद्ध छ। स्थानीय मनकुमारी शाहीको घर पहिरोको जोखिममा छ। पहिरोमा माटो र ढुङ्गा खस्ने क्रम अझै छ । घटना लगत्तै शाहीको परिवारलाई प्रहरी र स्थानियवासीको सहयोगमा सुरक्षित स्थान तर्फ सारेको स्थानीय कमल पौडेलले बताए ।

प्रकाशित मिति: Mar 5, 2017

प्रतिक्रिया दिनुहोस्