Logo
११ बैशाख २०८१, मंगलबार
(February 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ पार्टी खोल्न रवीन्द्र मिश्रले दिए बिबिसीबाट राजीनामा

काठमाडौं, १७ फागुन । रवीन्द्र मिश्रले बिबिसी नेपाली सेवा छाडेका छन् । उनले बिबिसीको प्रमुखबाट राजीनामा दिएका हुन ।

मिश्र पूर्णकालीन राजनीति गर्न बिबिसी छोडेको उनी निकटतम स्रोत बताउँछ । राजनीतिमा आउनेबारे उनले आजै घोषणा गर्नलागेको स्रोतको भनाई छ । बिबिसीमा कार्यरत पत्रकारहरूका अनुसार आज बिबिसीमा मिश्रको अन्तिम दिन हो । मिश्रले केही समय अघिदेखि नै राजनीतिमा आउने कसरत गर्दै आएका थिए । लामो समयदेखि विभिन्न पार्टीका युवा नेताहरू, पूर्वप्रसाशक, स्वतन्त्र बुद्धिजीवीसँग उनले नयाँ पार्टी खोल्नुपर्ने आवश्यकता बारे छलफल गर्दै आएका थिए ।

मिश्रले नयाँ पार्टी खोल्न युवा नेताहरू गगन थापा, रवीन्द्र अधिकारी, घनश्याम भुसाल लगायतलाई मनाउन धेरै लामो समयसम्म प्रयास गरे । तर, उनीहरू आफ्नै पार्टीमा बसे। पूर्वमुख्यसचिव लीलामणि पौडेलसँग पनि उनले सँगै मिलेर पार्टी खोल्न लामो समयसम्म छलफल चलाएका थिए ।

पौडेल अहिले चीनका लागि नेपालको राजदूत छन् । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले मिश्रलाई आफ्नो पार्टीमा ल्याउन धेरै प्रयत्न गरे पनि उनले नयाँ पार्टीका लागि नयाँ अनुहार चाहिने भन्दै भट्टराईको पार्टीमा जान अस्वीकार गरेका थिए ।

अहिले मिश्रसँग टिममा को को छन् भन्ने एकिन छैन । तर लेखक तथा यातायात अर्थशास्त्री सूर्यराज आचार्य, डा.सरोज धिताल, पूर्वमाओवादी नेता मुमाराम खनाललगायतको टिमले प्रारम्भिक तयारी गरिरहेको मिश्र निकटका मानिसहरू बताउँछन् । डोटीको सिलगढीस्थित पद्मोदय माविमा ५ देखि ७ र दार्चुलाको खलंगास्थित महेन्द्र माविबाट ८ देखि १० कक्षासम्मको शिक्षा हासिल गरेका मिश्रले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर गरेका छन् ।

पाकिस्तानको पञ्जाव विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर अध्ययन गर्ने क्रममा द न्युज इन्टरनेसनल अंग्रेजी दैनिकमा उनले साढे दुई वर्ष काम गरेको अनुभव बटुलेका छन् । त्यही क्रममा सन् १९९३ मा पाकिस्तानमा चुनाव भएका बेला बिबिसीलाई चुनावी रिपोर्टिङ गर्ने मौका पाएका रवीन्द्रले पछि बिबिसीमै काम गर्ने अवसर पाए ।

मिश्रले बेलायतको लन्डन युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय राजनीतिमा स्नातकोत्तर हासिल गरेका छन् । यसले गर्दा उनको राजनीतिक करिअर राम्रो हुने संभावना प्रवल छ ।

प्रकाशित मिति: Feb 28, 2017

प्रतिक्रिया दिनुहोस्