Logo
८ बैशाख २०८१, शनिबार
(February 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तराई-मधेसमा एमाले र मोर्चा ‘आमने–सामने’

काठमाडौ, फागुन १३ । पार्टी कामको सिलसिलामा जनकपुर पुगेका एमाले उपाध्यक्ष वामदेव गौतम बसेको घर मधेशी मोर्चाका कार्यकर्ताले घेरेसँगै एमाले र मधेसी मोर्चाबीचको सम्बन्धमा थप तिक्तता आएको छ । जनकपुर घटनालाई लिएर एमालेले संसदमा समेत कुरा उठाइसकेको छ । जनकपुरमात्रै होइन, मोर्चाका कार्यकर्ताले यसअघि पनि एमालेको कार्यक्रम र नेताहरुको घर तोडफोड गरेको थियो । विगतका यस्ता घट्नाबाट के पुष्टि हुन्छ भने आगामी दिनमा मधशी मोर्चा र एमालेबीचको सम्बन्ध सहज हुने छैन ।

यदि सविधान संशोधन भएन भने मधेशी मोर्चाको आन्दोलन र एमालेको मेची महाकाली अभियान सँगसँगै हुनेछ । एकदिनको मधेश बन्द कार्यक्रम सफल पारेर फागुन १९ गतेको प्रतिक्षामा बसेको छ । सबै प्रकृया पुरा भएपछि सो विधेयक पास हुने वा फेल हुने कुरा फागुन १९ गते मात्र टुगों लाग्नेछ । संशोधन विधेयक पास भएन भने मधेशवादी दल आन्दोलनमा जाने निश्चित प्रायः छ । एमालेले पनि फागुन २१ गतेदखि तराई मधेश अभियायनलाई थप शसक्त पार्दै सञ्चालन गर्नेछ । जसले गर्दा यी दुई शक्ति आमने–सामने हुने लगभग पक्का छ ।

एमालेले फागुन २१ गतेबाट झापाको काँकडभिट्टाबाट मेची महाकाली अभियानको उद्घाटन गर्दैछ । उसको यो अभियान एमालेप्रति मधेशमा रहको भ्रम हटाउन केन्द्रीत रहेको छ । उसले संविधान कार्यन्वयन, संविधानका विषयमा मधेशमा रहेको भ्रम चिर्नका लागि अभियान सञ्चालन गर्न लागिएको बताएको छ । देशमा एकताको भावना फैलाउन भनेपनि आन्तरिक रुपमा पछिल्लो मधेश आन्दोलको समयदेखि एमाले मधेश विरोधी देखिएको छ । अधिकार माग्दा विदेशी देख्ने प्रवृतिका कारण एमालेको आलोचना भइरहेको छ ।

एमालेको मेची महाकाली अभियानको बारेमा मोर्चाको भने फरक धारणा छ । एमालेको यो अभियान मधेशी जनतालाई जिस्काउन भएको मोर्चाका कतिपय नेताहरुको आरोप छ । मधेशी मोर्चाका एकघटक सद्भावना पार्टीका महासचिव मनिष सुमन भन्छन् ‘हामी एमालेका साथिहरुसँग विनम्र पूर्वक अनुरोध गछौ कि मधेशमा उहाँहरु नजाँदा राम्रो, किन कि मधेशी जनता एमालेप्रति आक्रोश छन् ।’

एमालेको अभियान धेरै पहिला घोषणा भएको हो । तर, मोर्चा सरकारले निर्वाचनको मिति घोषणा गरेपछि आन्दोलित भएको हो । मोर्चाले मेची महाकाली अभियानमा अवरोध गरे एमालेले प्रतिरोध गर्ने चेतावनी दिइसकेको छ । यद्यपी एमालेले आफ्नो यो अभियान कुनै राजनीतिक दलकाविरुद्ध नभएको दावी गर्दै आएको छ । एमालेका नेता ठाकुर गैरे भन्छन् ‘एमालेको यो अभियान कुनै पार्टीको विरुद्ध होइन । यो त मधेश तराई हिमाल पहाडका बीच सद्भाव फैलाउने कार्यक्रम हो । यसलाई मोर्चाले पनि स्वागत गर्नु पर्छ ।’

तर, सद्भावना पार्टीका महासचिव सुमन एमालेले मधेशी जनतासँग माफि नमागेसम्म एमालेलाई मधेशमा कार्यक्रम गर्न नदिने बताउँछन् । उनले भने, ‘अहिले नै हामीले एमालेका साथिहरुसँग बिनम्र अनुरोध गर्छौ मधेशमा कार्यक्रम नगर्नुहोस् भनेर । मानेनन् भने कालो झण्डा देखाउँछौ । कार्यक्रम असफल बनाउँछौ ।’

गैरेको भनाइ छ,–‘ बहुदलीय राजनीतिमा कसैले कसैलाई यो अभियान चला–नचला भन्नु आवाश्यक छैन । राजनीतिक दलहरुले आफ्ना कार्यक्रम लिएर जनतामा जानसक्छन् । मधेशमा जान कुनै मधेशी दल अथवा मधेशी मोर्चालाई सोध्नुपर्दैन ।’ यता मधेशी मोर्चाका नेता तथा तमलोपाका उपाध्यक्ष ह्रदयश त्रिपाठीले आफूहरुले कसैको अभियानमा अवरोध नगर्ने बताए । कुनै पनि दलको अभियान अवरोध गर्ने मोर्चाको निर्णय नभएको उनले बताए ।

एमाले नेता कृष्णगोपाल श्रेष्ठले यदि मोर्चाले एमालेलाई चलाउने दुस्साहस ग¥यो भने त्यसको मूल्य मोर्चाले चुकाउनु पर्ने चेतावनी दिए । उनले भने, ‘वामदेवमाथि भएको आक्रमण मोर्चाको कायरता हो ।’ संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङको पनि श्रेष्ठको जस्तै भनाई छ । मोर्चा आन्दोलनमा गएपनि एमालेको अभियान अगाडि बढ्न दिनपर्ने उनको भनाई छ ।

यदि मोर्चा एमाले दुवैले एक अर्काको अस्तित्व मधेशमा स्वीकार्न सकेनन् भने २१ गतेबाट सुरु हुने एमालेको मेची महाकाली अभियान विना अवरोध पुरा हुने संकेत देखिदैन । त्यसकारण अभियान पूर्व नै एमाले र मोर्चाबीच छलफल हुनु आवश्यक छ । होइन, भने राजनीतिक प्रतिरोधको संस्कार सतहमा आउने र यसको सिकार सर्वसाधारण जनता हुने पक्का छ ।#ratopati

प्रकाशित मिति: Feb 24, 2017

प्रतिक्रिया दिनुहोस्