Logo
१३ बैशाख २०८१, बिहीबार
(February 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘साम्प्रदायिकता भड्किने समूहलाई छोडिन्न’

काठमाडौं, फागुन १२ । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले देशमा केही विखण्डनवादी शक्तिले साम्प्रदायिकता भड्किने अभिव्यक्ति दिएको भन्दै त्यस्ता समूहलाई निस्तेज पार्न सेना हरहमेसा तयार रहेको बताएका छन् । सेनापतिको अभिव्यक्ति केही वर्षयता तराईमा देश टुक्राउने अभिव्यक्ति दिँदै हिड्ने सिके राउतप्रति लक्षित थियो । यद्यपी सेनापति क्षत्रीले राउतको नाम भने लिएनन् ।

बिहीबार ‘सेना दिवस २०७३’ को उपलक्ष्यमा नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले विखण्डनकारी समूहलाई निस्तेज पार्न नेपाली सेना सदैव तयार रहेको बताएका हुन् ।  ‘केही विखण्डनवादी शक्तिले साम्प्रदायिकता भड्किने अभिव्यक्ति दिनुको साथै केही समूहले हतियार उठाउने धम्की दिइरहेको कारण नेपाली समाजमा युगौंदेखि चल्दै आएको सांस्कृतिक एवम् सामाजिक सद्भाव तथा सहिष्णुतालाई चुनौती दिएको छ,’ सेनापति क्षत्रीले भने, ‘पूर्खाको रगत पसिनाले जोगाएको इतिहासलाई खण्डित तुल्याउने कुनै पनि अवाञ्छनीय गतिविधिलाई निस्तेज गर्न नेपाली सेना हरमहेसा तयारी हालतमा रहने छ।’

उनले सवल र सक्षम सङ्गठन तयार गर्ने, नागरि-सैनिक सम्बन्धलाई सुदृढ गर्ने, उच्च मनोबल युक्त फौज तयार गर्ने, वृत्तिविकास प्रणालीलाई व्यवहारिक बनाउने कार्यलाई समेत सेनाले निरन्तरता दिने बताएका छन्। सेनापति क्षत्रीले सैनिक कुटनीतिको माध्यमबाट मित्रराष्ट्रका सैनिक सङ्गठनसँग आपसी हितमा दुई पक्षीय पेशागत सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लाने विश्वास व्यक्त गरे। ‘विभिन्न मित्रराष्ट्रसँग संयुक्त तालिम तथा अभ्यास सञ्चालन भइरहेको र यसै क्रममा पहिलो पटक मित्रराष्ट्र श्रीलंकासँग सयुक्त अभ्यास सम्पन्न हुनुको साथै मित्रराष्ट्र बंगलादेश तथा मित्रराष्ट्र चीनसँग पनि संयुक्त अभ्यास गर्ने योजना छ।’

उनले नेपाली सेना, राष्ट्रको पहरेदार, राष्ट्रिय एकताको प्रतिविम्ब, आफ्नो कर्तव्यपथमा अडिग रही सदैव नेपाल र नेपालीको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे । नेपाली सेनाको वीरताको चर्चा गर्दै सेनापति क्षत्रीले नेपाली सेना सारा नेपालीको साझा राष्ट्रिय सेना भएको बताए। उनले राज्य सङ्कटमा पर्दा होस् वा विपद्मा नेपाली सेनाले गरेको निःस्वार्थ सेवाले नेपाली जनताको सेना प्रतिको अगाध विश्वास, आस्था र भरोसा जितेको समेत दाबी गरे ।

कार्यक्रमलाई सम्बोधन गर्नुअघि सेनापति क्षत्रीले बिहीबार बिहान नेपाल र नेपालीको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र रक्षाको लागि आप्mनो जीवनको आहुती दिने वीर वीरङ्गनाप्रति पुष्पमालासहित छाउनीस्थित ‘सैनिक वीर स्मारक’ मा श्रद्धाञ्जलि अर्पण गरेका थिए । बिहीबारका दुवै कार्यक्रममा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिति थियो।

प्रकाशित मिति: Feb 23, 2017

प्रतिक्रिया दिनुहोस्