Logo
१५ चैत्र २०८०, बिहीबार
(February 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भासिएको बिपी राजमार्ग मंगलबारबाट एकतर्फी खुल्ने

काठमाडौं, फागुन ९ । आइतबार राति भासिएको बिपी राजमार्ग मंगलबार बिहानबाट एकतर्फी खुल्ने भएको छ । धुलिखेल–बर्दिबास सडक आयोजना प्रमुख भरतकाजी देवजुका अनुसार सोमबार बिहानैदेखि दुई वटा लोडरले वैकल्पिक ट्रयाक मर्मत गरेपछि बाटो एकतर्फी खोल्न सम्भव भएको हो ।

उनका अनुसार जापानीज्‌सँग छलफल गरी भासिएको बाटोको नयाँ डिजाइन गरेर निर्माण थालिनेछ। देवजुकै नेतृत्वमा सडक विभाग र जापानी प्राविधिकको टोली सोमबार स्थलगत अनुगमनमा गएको थियो । उक्त टोलीले गत वर्षको भुइँचालोको धक्काले सडकको जग कमजोर भई अचानक भासिएको हुनसक्ने प्रारम्भिक आँकलन गरेको छ।

सडक विभाग प्रवक्ता दयाकान्त झा भने जापानी सहयोगमा मर्मतसम्भार हुँदै आएको राजमार्गको मर्मत कसरी गर्ने भन्नेबारे केही अन्यौल रहेको बताउँछन् । आइतबार राति बनेपा–बर्दिबास सडक खण्डअन्तर्गत सिन्धुलीको शीतलपाटी–९ बेनीघाटमा झन्डै ४५ मिटर सडक भासिएको थियो ।  बिपी राजमार्गमा गत वर्ष को भुइँचालोले विभिन्न ११ ठाउँमा यस्तो धक्का दिएको देवजुले बताए ।

भौतिक यातायात तथा पूर्वाधार मन्त्रालयका पूर्वसचिव तुलसी सिटौलाले जापानीज्‌ले सहयोग नगरे पनि नेपाल सरकार आफैंले बाटो मर्मत गर्नुपर्ने बताए ।  प्रवक्ता झाले रामेछाप, दोलखा, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा लगायत पूर्वका अन्य जिल्ला तथा तराईका जिल्लाबाट राजधानी हिँडेका सवारीसाधनले अब खुर्काेट–मन्थली–दोलखा–दोलालघाटको बाटो प्रयोग गर्न सक्ने बताए ।

तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाले २०१५ सालमा यो राजमार्गको परिकल्पना गरेका थिए। उनकै योजनाअनुरुप त्यतिबेलै राजमार्ग निर्माण सुरु भएको थियो । २०१७ सालको राजनीति परिवर्तनपछि यो राजमार्ग निर्माण ओझेलमा परेको थियो । ०५२ सालमा जापान सरकारले अनुदानमा यो बाटो निर्माण थालेको थियो।

२० अर्ब लगानीमा जापान सरकारले बनाएको बिपी राजमार्गमा दुई वर्षअघिदेखि सञ्चालनमा आएको हो। सडकको जग बलियोसँग नबनाइनू, भूकम्पका कारण चर्किएको र सुनकोशीले बर्षातको समयमा जग खोलिदिँदा सडक भत्केको हुन सक्ने स्थानीयबासीले आँकलन गरेका छन् ।

प्रकाशित मिति: Feb 20, 2017

प्रतिक्रिया दिनुहोस्