Logo
११ बैशाख २०८१, मंगलबार
(February 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्टरनेट नचलेपछि तथ्याङ्क सङ्कलनमा ढिलाइ

सोलुखुम्बु, ६ फागुन । गाउँमा इन्टरनेट नचलेपछि भूकम्पपीडितको तथ्याङ्क सङ्कलनमा खटेका प्राविधिक सदरमुकाम धाउन बाध्य भएका छन् । भूकम्पपीडितको लगत सङ्कलनका लागि विभिन्न गाविसमा खटिएका प्राविधिकले इन्टरनेट नचलेपछि सङ्कलन गरेको तथ्याङ्क केन्द्रीय कार्यालयमा पठाउन सदरमुकाम सल्लेरी आउन बाध्य भएका हुन् ।

सङ्लकन भएको तथ्याङ्क प्रत्येक दिन कार्यालयमा पठाउनुपर्ने भए पनि इन्टरनेट सेवाको पहुँच र सुविधा नभएकाले गाविसमा खटिएका प्राविधिक सदरमुकाम आउनुपरेको लगत सङ्कलन सम्पर्क कार्यालय सल्लेरी सोलुखुम्बुका सम्पर्क अधिकृत लोकुचाराज दासले बताउनुभयो ।

इन्टरनेटले कार्यक्षेत्रमा काम नगर्दा प्राविधिकले पनि दोहोरो दुःख पाएको उहाँले बताउनुभयो । ‘डाटा अप्लोड’ का लागि जिल्लाको डाँडापारिको गाउँ विकास समिति भनेर चिनिने ‘गोली’ बाट दुई दिन हिँडेर सदरमुकाम आइपुगेको सर्वे इन्जिनियर रामकुमार पाख्रिनले भन्नुभयो, “इन्टरनेटकै समस्याले नियमित काममा बाधा पुगेको छ ।”

इन्टरनेट नहँुदा सङ्कलन गरेको डाटा ट्याब्लेटबाट उड्ने र डिस्प्ले जानेसम्मको समस्या भोग्नुपरेको इन्जिनियर पाख्रिनको दुःखेसो छ ।प्राविधिक समस्याका कारण काममा ढिलाइ हुनका साथै समयमा डाटा सङ्कलन गर्न कठिनाई हुने जिल्लाका अधिकांश प्राविधिकको गुनासो छ ।

भूकम्प गएको करिब २२ महिनापछि बल्ल तथ्याङ्क सङ्कलनको काम सुरु भएको जिल्लामा इन्टरनेटको समस्याले गर्दा अझ काममा ढिलाई हुने भएको छ ।

प्रकाशित मिति: Feb 17, 2017

प्रतिक्रिया दिनुहोस्