Logo
१३ बैशाख २०८१, बिहीबार
(February 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेयर बजार अस्वाभाविक घट्नुको रहस्य यस्तो पो !

काठमाडौं, ६ फागुन । सेयर बजार अस्वाभाविक घट्नुको रहस्य बाहिर आएको छ । पछिल्लो समय अस्वाभाविक रुपमा घटिरहेको शेयर बजारमा केही घरानियाहरुको हात रहेको पाइएको हो ।

बैंकहरुमा तरलता अभाव रहेको भन्दै सीमित बाणिज्य बैंकहरुले १२ प्रतिशतसम्मको ब्याजदर आह्वान गर्नुको पछाडि समेत नाफाखोरी खेल रहेको स्पष्ट भएको छ । कुल निक्षेपको दुई प्रतिशत पनि ननाघ्ने गरी मुद्धती खातामा ब्याज बढाएको हल्ला गरेर बैंकहरुले ९८ प्रतिशत ऋणको ब्याज बढाएको खुलासा भएको छ ।

जसबाट ती बैंकहरुले अकल्पनीय नाफा बढाउने अवस्था रहेको जानकारहरुले बताएका छन् । यस्तो खेलका नाइके चाहीँ बैंकर्स संघका अध्यक्ष अनीलकेशरी शाहसहित आधा दर्जन जति मध्यम तथा तल्लो तहका बाणिज्य बैंकरहरु रहेको बुझिएको छ । कर्तुत विस्तारै खुल्दै गएपछि अहिले उनीहरु नाजवाफ भएका छन् । वाणिज्य बैंकहरु यस्तो खेललाई विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि कृत्रिम खेल भनेका छन् ।

बैंकमा नगद अभावको चर्चा चुल्याएर बजार घटाउने क्रममा विमा समूहको मूल्य घटाउन भने विशाल ग्रूपको चलखेल रहेको थाहा भएको छ । विशाल समूहको लगानीमा विमा समितिको अध्यक्ष भएका चिरञ्जीवी चापागाईले विमा ऐनमा पूंजी वृद्धिको कुरा नआउने भन्नुको पछाडि नियोजित खेल रहेको बुझिएको छ । उनलाई अध्यक्ष बनाउन खर्च गर्ने घरानीयाहरुले नै त्यस्तो बोल्न लगाएको बताइन्छ ।

त्यसपछि घट्न थालेको विमाको मूल्यलाई रसातलमा पु-याउने क्रममा विशाल ग्रूपले आपूसंग रहेको गुराँस लाइफ लगायतका कम्पनीहरुको शेयर विक्री गरेको र आइएमइ ग्रूपले सूर्या लाइफको शेयर विक्री गरेको स्रोतले बताएको छ । उनीहरुले केही करोड घाटै खाएर भएपनि विमाको मूल्य घटाएर त्यसलगत्तै राम्रा विमा कम्पनीहरुको शेयर किनेको बुझिएको छ ।

त्यसमाथि विशाल समूहका जीवन वीमा कम्पनीहरु अहिले स्वीकृतिको पाइपलाइनमा रहेको नेपालीपत्रले जनाएको छ । पाँच/पाँच अर्ब चुक्ता पूंजीका ती कम्पनीहरुको दर्ता लगत्तै विमा समितिले जीवन विमाको पूंजी ५ अर्ब र निर्जिवन विमाको पूंजी ४ अर्ब पु-याउन निर्देशन दिने पनि विश्वस्त सूत्रले जनाएको छ ।

यसरी केही घरानीयाहरुले आफ्नो स्वार्थ पूर्तिका लागि शेयर बजारमा चलखेल गरेको कुरा माथिल्लो तहमा लगभग थाहा भएपनि उनीहरुलाई कारबाही गर्ने हिम्मत नियामक निकायहरुमा नहुनु विडम्बना हो ।

प्रकाशित मिति: Feb 17, 2017

प्रतिक्रिया दिनुहोस्